झुटा विवरण देखाएर शिक्षक सेवा आयोगको परीक्षा, शिक्षक केसीविरुद्ध भ्रष्टाचार मुद्दा

३ भाद्र २०८३, बुधबार १६:३६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झुटा विवरण पेस गरी शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भई माध्यमिक तहमा स्थायी नियुक्ति लिएको आरोपमा अख्तियारले केसीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार २०६३ सालमा अस्थायी विस्थापित शिक्षकलाई एकपटक आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउने निर्णय भएको थियो । सोही व्यवस्थाको दुरुपयोग गर्दै केसीले आफू विस्थापित शिक्षक भएको झुटा विवरण पेस गरी शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा केसी विस्थापित शिक्षक नभएको तथा यसअघि नै स्थायी शिक्षकको नियुक्ति लिएर राजीनामा दिएको तथ्य फेला परेको अख्तियारको भनाइ छ । आयोगका अनुसार उनले २०६१ असार २ गते प्राथमिक विद्यालय शिक्षकको स्थायी नियुक्ति लिएका थिए । त्यसपछि उक्त पदबाट राजीनामा दिएर माध्यमिक विद्यालय शिक्षकको परीक्षामा सहभागी भई पुनः स्थायी नियुक्ति लिएको पाइएको छ ।

शिक्षक सेवा आयोगको विज्ञापनअनुसार परीक्षामा आवेदन दिने शिक्षक विस्थापित वा अस्थायी रूपमा कार्यरत रहेको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित गराउनुपर्ने व्यवस्था थियो । केसीले पेस गरेको झुटा विवरण तत्कालीन जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले प्रमाणित गरेको अख्तियारले जनाएको छ ।

आयोगले केसीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै सोहीअनुसार कैद तथा जरिवाना सजायको मागदाबी गरेको छ ।

त्यस्तै, झुटा विवरण प्रमाणित गरी मुख्य कसुरदारलाई सहयोग गरेको भन्दै तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपानेविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजायको मागदाबी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*