प्रधानमन्त्री र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच ‘हेट टु हेट’ भेटवार्ता

काठमाडौं । लामो समयदेखि चिसिएको सम्बन्ध र आर्थिक नीतिका विषयमा देखिएको मतभेदका बीच प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच बुधबार ‘हेट टु हेट’ भेटवार्ता भएको छ । सरकार सञ्चालन, आर्थिक नीति, निजी क्षेत्रको विश्वास र अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा दुईबीच गम्भीर छलफल भएको हो ।
प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच पछिल्लो समय आर्थिक नीति तथा सरकारको प्राथमिकताका विषयमा मतभेद रहँदै आएको थियो । विशेषगरी आम नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने कर नीति, उद्योग–व्यवसायको वातावरण तथा निजी क्षेत्रसँगको सम्बन्धका विषयमा प्रधानमन्त्री शाह अर्थमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताइँदै आएको थियो ।
अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति असन्तुष्ट बनेका प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्थमन्त्री परिवर्तन गर्नुपर्ने प्रस्तावसमेत राखेको चर्चा चलेको थियो । तर, सभापति लामिछानेले उक्त प्रस्ताव स्वीकार नगरेपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधि तथा व्यवसायीहरूसँग छुट्टाछुट्टै छलफल अघि बढाएका थिए ।
यही घटनाक्रमपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सम्बन्धलाई लिएर राजनीतिक तथा आर्थिक वृत्तमा विभिन्न टिप्पणी हुँदै आएका थिए । दुईबीचको दूरी बढ्दै गएको र आर्थिक नीतिमा समेत एकरूपता नरहेको चर्चा भइरहेका बेला बुधबार भएको प्रत्यक्ष भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले चालु आर्थिक वर्षमा सम्पादन गर्ने प्रमुख काम तथा हासिल गर्नुपर्ने उपलब्धिका विषयमा कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री शाह र मन्त्रीहरूले सम्झौतामा हस्ताक्षर गर्दै एकअर्काबीच सम्झौताको प्रति आदानप्रदान गरेका थिए ।
कार्यसम्पादन सम्झौताले चालु आर्थिक वर्षमा मन्त्रालयहरूले प्राथमिकताका साथ अघि बढाउने कार्यक्रम, समयसीमा र हासिल गर्नुपर्ने नतिजालाई स्पष्ट पार्ने सरकारको भनाइ छ । यही क्रममा प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच अर्थतन्त्रका तत्कालीन चुनौती तथा आगामी कार्यदिशाका विषयमा प्रत्यक्ष र विस्तृत छलफल भएको हो ।
भेटवार्तामा देशको अर्थतन्त्रलाई गति दिन तत्काल चाल्नुपर्ने नीति तथा कदम, उद्योग–व्यवसाय सञ्चालनमा देखिएका अवरोध हटाउने उपाय, निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्ने रणनीति तथा लगानीको वातावरण सुधार गर्ने विषयमा छलफल भएको बताइएको छ । त्यसैगरी लामो समयदेखि सुस्त देखिएको शेयर बजारलाई सकारात्मक दिशामा लैजान सरकारले चालु आर्थिक वर्षमा गर्न सक्ने सम्भावित कामका विषयमा समेत प्रधानमन्त्री र अर्थमन्त्रीबीच छलफल भएको थियो । पूँजी बजारमा देखिएको निराशा हटाउने, लगानीकर्ताको मनोबल बढाउने तथा अर्थतन्त्रका विभिन्न क्षेत्रमा सकारात्मक संकेत सिर्जना गर्ने विषयलाई समेत छलफलको महत्वपूर्ण एजेन्डा बनाइएको थियो ।
प्रधानमन्त्री शाहले अर्थतन्त्रलाई केवल तथ्यांकमा सुधार देखाउनेभन्दा पनि त्यसको प्रत्यक्ष प्रभाव नागरिक, उद्योगी–व्यवसायी र लगानीकर्ताले महसुस गर्ने गरी नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको बताइएको छ । निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक गतिविधि विस्तार गर्ने र लगानीको वातावरण बनाउने विषयमा पनि प्रधानमन्त्रीले चासो राखेका थिए ।
प्रधानमन्त्री र अर्थमन्त्रीबीच पछिल्लो समय देखिएको भनिएको असमझदारीका बाबजुद भएको यो भेटवार्ताले सरकारको आर्थिक कार्यदिशामा नयाँ समझदारी बन्ने अपेक्षा गरिएको छ ।









