जापानबाट २ अर्ब ७३ करोड अनुदान लिने सरकारको निर्णय
३ भाद्र २०८३, बुधबार १८:०२

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल (एटीसी) सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।









