घाइते बोकेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण
३ भाद्र २०८३, बुधबार १८:४९

काठमाडौं । भैरहवामा भएको सडक दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउँदै गरेको माउन्टेन एयरको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।
उडानका क्रममा मौसम प्रतिकूल भएपछि सुरक्षालाई ध्यानमा राख्दै पाइलटले हेलिकोप्टरलाई धादिङको गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय नजिकैको खुला चौरमा अवतरण गराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माउन्टेन एयरको ‘एएन–एएलडी’ कलसाइन भएको हेलिकोप्टर मौसममा खराबी आएपछि केही समयका लागि गजुरीमा अवतरण गरिएको थियो ।
भैरहवाबाट घाइते बोकेर काठमाडौं आउँदै गर्दा धादिङको आकाशमा मौसम बिग्रिएपछि पाइलटले जोखिम नलिई हेलिकोप्टर सुरक्षित स्थानमा अवतरण गराएका थिए ।









