जोशी हाइड्रोपावरको घाटा चुलियोः चौथो त्रैमाससम्म ४ करोड नोक्सानीमा, नेटवर्थ पनि घट्यो

४ भाद्र २०८३, बिहीबार १२:२५

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको वित्तीय अवस्था थप चुनौतीपूर्ण देखिएको हो।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनी ४ करोड ५१ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको घाटाको दर निकै बढेको देखिन्छ। विद्युत बिक्रीबाट हुने आम्दानीमा केही वृद्धि भए पनि आयोजना सञ्चालन खर्च र प्रशासनिक खर्चमा भएको वृद्धिले कम्पनीको मुनाफामा भारी गिरावट आएको हो।

गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ८८ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ४८ लाख ६६ हजार रुपैयाँ मात्र थियो। आम्दानी बढे पनि आयोजना सञ्चालन खर्च ५१ लाख ९६ हजारबाट बढेर १ करोड ३६ लाख ६७ हजार रुपैयाँ पुगेपछि कम्पनीको कूल नाफा ५३ लाख ४३ हजार रुपैयाँ ऋणात्मक हुन पुगेको छ। यसबाहेक १ करोड १४ लाख रुपैयाँ प्रशासनिक खर्च र २ करोड ३२ लाख रुपैयाँ ह्रासकट्टी गरेपछि कम्पनीको खुद नोक्सानी ४ करोड नाघेको हो।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५४ पैसा ऋणात्मक देखिएको छ। नोक्सानी बढेसँगै कम्पनीको जगेडा कोष पनि २१ करोड ४९ लाख रुपैयाँले ऋणात्मक भएको छ। जसकारण कम्पनीको प्रतिशेयर नेटवर्थ घटेर ६४ रुपैयाँ ९१ पैसामा खुम्चिएको छ। कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख रुपैयाँ रहेको छ। कम्पनीले आफ्नो आयोजनाका दुईवटा मेशिनमध्ये एउटा पूर्ण रूपमा सञ्चालन हुन नसकेको र अर्को मेशिन पनि इनटेकमा आएको समस्याका कारण निकै कम समय मात्र चल्न सकेकोले उत्पादनमा ह्रास आएको जनाएको छ। प्राविधिक समस्याका कारण विद्युत उत्पादन लक्ष्य अनुसार हुन नसक्दा आम्दानी प्रभावित भएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*