फोहोर व्यवस्थापनको बैठकमै भनाभन, मेयर महर्जनसँग विवादपछि सांसद तामाङ बाहिरिइन्

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे छलफल गर्न बसेको बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङबीच भनाभन भएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी छन्।
शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको बञ्चरेडाँडा फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा विवाद चर्किएपछि केहीबेर वातावरण तनावपूर्ण बनेको थियो।
बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा उपत्यकाको फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न बैठक बोलाइएको थियो।
बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख महर्जनले महानगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रा मुद्दा लगाउने गरिएको गुनासो गरेका थिए। काम गरिरहँदा पनि सांसदहरूले दबाब दिने गरेको भन्दै उनले विषयवस्तु बुझेर मात्रै धारणा बनाउन आग्रह गरेका थिए।
महर्जनको भनाइप्रति सांसद तामाङले असहमति जनाएपछि दुईबीच भनाभन सुरु भएको थियो। विवाद बढ्दै गएपछि सञ्चारमन्त्री तिमिल्सिनाले हस्तक्षेप गर्दै वातावरण शान्त पार्ने प्रयास गरेका थिए।
तर, विवाद साम्य नभएपछि सांसद तामाङ बैठकबाट उठेर बाहिरिएकी हुन्।









