कानुनी व्यवस्था भए औषधीय गाँजा खेतीमा सहजीकरण गर्छौं : अर्थमन्त्री वाग्ले

५ भाद्र २०८३, शुक्रबार १८:०८

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणलाई कानुनी रूपमा व्यवस्थित गर्न सकिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजालाई आय, रोजगारी र सम्भावित राजस्वको स्रोतका रूपमा मात्र हेर्न नहुने बताए। औषधिजन्य प्रयोगसँगै लागुपदार्थका रूपमा समेत नियन्त्रित विषय भएकाले विज्ञ अध्ययन र त्यसबाट प्राप्त निष्कर्षका आधारमा कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

“गाँजा उत्पादन तथा बजारीकरणको विषय आय, रोजगारी तथा सम्भावित राजस्व सङ्कलनमा मात्र सीमित नभई औषधिजन्य तथा लागुपदार्थका रूपमा नियन्त्रित विषय हो,” वाग्लेले भने, “सम्बन्धित विज्ञबाट अध्ययन तथा निष्कर्ष भई कानुनबमोजिम व्यवस्थित गरिएमा अर्थ मन्त्रालय सहजीकरणका लागि तत्पर रहनेछ।”

विकसित तथा पश्चिमा मुलुकमा समेत गाँजासम्बन्धी नीतिमा खुलापन बढिरहेको उल्लेख गर्दै उनले नेपालले पनि यस विषयलाई सकारात्मक दृष्टिकोणबाट अध्ययन गर्नुपर्ने बताए। गृह मन्त्रालयसँग समन्वय गरेर थप अध्ययन अघि बढाउने प्रतिबद्धता पनि उनले जनाए।

अध्ययनबाट आवश्यक निष्कर्ष निकालेर कानुनमै स्पष्ट व्यवस्था गर्न सके अर्थ मन्त्रालयले सकारात्मक रूपमा हेर्ने उनको भनाइ छ। कानुनबमोजिम गाँजाको उत्पादन तथा बजारीकरण व्यवस्थित गर्न सकिए आय र रोजगारी सिर्जनासँगै औद्योगिक प्रवर्द्धन तथा सरकारी राजस्व वृद्धिमा समेत योगदान पुग्न सक्ने उनले बताए।

बैठकमा सांसद भुवनबहादुर सुनारले सोधेको अर्को प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि आर्थिक वर्ष २०८३र८४ मा प्रारम्भिक रूपमा सात लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*