बंगालको खाडीमा ७३ हजार टन क्षमताको कार्गो जहाज डुब्यो, २२ जना बेपत्ता

काठमाडौं । बंगालको खाडीमा पानामाको झण्डा अंकित मालवाहक जहाज ‘ओसियन विनर’ डुबेपछि चालक दलका २२ सदस्य बेपत्ता भएका छन् । जहाजमा रहेका २४ जनामध्ये दुई जनालाई भने भारतीय तटरक्षक बलले उद्धार गरेको छ ।
जहाज शनिबार ओडिशाको पारादीप तटबाट करिब ४४४ किलोमिटर टाढा समुद्रमा डुबेको हो । जहाज पारादीप बन्दरगाहबाट सामान बोकेर सिंगापुरतर्फ जाँदै थियो । जहाजमा चीनका २०, म्यानमारका ३ र बंगलादेशका १ गरी २४ जना चालक दलका सदस्य थिए ।
जहाज समुद्रमा समस्यामा परेपछि भारतीय तटरक्षक बलसँग सम्पर्क टुटेको थियो । त्यसलगत्तै भारतीय तटरक्षक बल र नौसेनाले खोजी तथा उद्धार अभियान सुरु गरेका हुन् ।
उद्धार टोलीले लाइफ र्याफ्टमा रहेका दुई जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो । अन्य चालक दलका सदस्यहरूको अवस्था भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उनीहरूको खोजीका लागि श्री विजयपुरमबाट दुईवटा जहाज परिचालन गरिएको छ । जहाज डुब्नुको वास्तविक कारण भने अझै खुलेको छैन ।
ओसियन विनर करिब २२५ मिटर लामो र ३२ मिटर चौडा जहाज हो । यसमा एकपटकमा करिब ७२ हजार ९२८ टनसम्म सामान बोक्न सक्ने भारबहन क्षमता रहेको छ । सन् १९९८ मा निर्माण भएको यो जहाज मुख्य रूपमा फलामको सामान ओसारपसारका लागि प्रयोग हुँदै आएको थियो ।









