नेपालको अटो बजारमा ईभीको दबदबा, साउनमा भित्रिए ६८९ विद्युतीय गाडी

७ भाद्र २०८३, आईतवार १०:२२

काठमाडौँ ।  नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको उपस्थिति पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ। इन्धनको मूल्यवृद्धि, सञ्चालन तथा मर्मतसम्भारमा तुलनात्मक रूपमा कम खर्च र बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा उपलब्ध हुने फाइनान्सिङ सुविधाका कारण उपभोक्ताको रोजाइ विद्युतीय सवारीतर्फ केन्द्रित हुन थालेको हो।

विद्युतीय सवारीप्रतिको आकर्षण बढ्नुमा देशभित्र जलविद्युत् उत्पादन विस्तार हुँदै जानु र मुख्य सडक तथा सहरी क्षेत्रमा चार्जिङ पूर्वाधार थपिँदै जानुले पनि महत्वपूर्ण भूमिका खेलेको छ। चार्जिङ सुविधाको विस्तारसँगै विद्युतीय गाडीप्रति उपभोक्ताको विश्वाससमेत बढिरहेको व्यवसायीहरूको बुझाइ छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै नेपालमा ६८९ वटा विद्युतीय चारपांग्रे सवारीसाधन भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार ती सवारीसाधन आयात गर्दा १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। सोही अवधिमा सरकारले विद्युतीय चारपांग्रे सवारीको आयातबाट १ अर्ब ६ करोड १६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

साउनमा नेपाल भित्रिएका कुल ९८७ वटा चारपांग्रे सवारीमध्ये विद्युतीय गाडीको संख्या ६८९ रहेको छ। यसअनुसार कुल आयातमा विद्युतीय सवारीको हिस्सा करिब ६९ दशमलव ८ प्रतिशत पुगेको छ। अर्थात् साउनमा नेपाल भित्रिएका चारपांग्रे सवारीमध्ये झन्डै सातमध्ये पाँचवटा विद्युतीय रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*