उद्योगलाई सस्तो बिजुली दिएर उत्पादन लागत घटाउने सरकारको तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उद्योगको उत्पादन लागत घटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँग भएको छलफलमा मन्त्री श्रेष्ठले वर्षायाममा बढ्ने विद्युत उत्पादनलाई स्वदेशमै अधिकतम खपत गराउने गरी सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए।
उनका अनुसार बढी विद्युत् खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको छ। साथै वर्षायाममा विद्युत उत्पादन बढ्ने समयमा मौसमी विद्युत महसुल लागू गर्ने विषयमा समेत सरकारले काम गरिरहेको उनले बताए।
मन्त्री श्रेष्ठले उद्योगको उत्पादन लागत घटाउने, विद्युतको खपत बढाउने र नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने विषय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे। विद्युत उत्पादन बढाएर मात्र नहुने भन्दै त्यसको अधिकतम उपयोग देशभित्रै गरी उद्योग, रोजगारी र अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उनको भनाइ छ।
सुनसरी–मोरङ क्षेत्रमा निर्माण भइरहेका नौवटा नयाँ सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो र दिगो हुने मन्त्री श्रेष्ठले बताए। उद्योग सञ्चालनका क्रममा विद्युत् अभाव वा पूर्वाधारको समस्या नआओस् भन्ने उद्देश्यले नयाँ उद्योग स्थापना गर्नुअघि नै आवश्यक विद्युत क्षमता र पूर्वाधार उपलब्धताबारे जानकारी दिने प्रणाली विकास गर्न लागिएको पनि उनले जानकारी दिए।
मन्त्री श्रेष्ठले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिँदै उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको बताए। विद्युतको सहज र सहुलियतपूर्ण उपलब्धताले उद्योगको लागत घटाउनुका साथै उत्पादन तथा रोजगारी बढाउन सहयोग पुग्ने सरकारको अपेक्षा रहेको उनले बताए। उनले विद्युतको बढ्दो उत्पादनलाई देशभित्रै अधिकतम प्रयोग गर्न सके नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र समग्र अर्थतन्त्रलाई समेत थप गति दिन सकिने बताएका छन्।









