साउनमै वाणिज्य बैंकको निक्षेपमा धक्का: २१ अर्ब ६३ करोडले घट्यो, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन घटेको छ । असार मसान्तको तुलनामा साउन मसान्तसम्म २० वाणिज्य बैंकहरूको कुल निक्षेप २१ अर्ब ६३ करोड रुपैयाँले घटेको हो ।
साउन मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल ७४ खर्ब ७६ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । असार मसान्तसम्म भने यी बैंकहरूको कुल निक्षेप ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा कुल निक्षेपमा शून्य दशमलव २९ प्रतिशतले कमी आएको छ ।
साउनमा २० वाणिज्य बैंकमध्ये १० बैंकको निक्षेप घटेको छ भने १० बैंकको बढेको छ । निक्षेप संकलनका आधारमा सबैभन्दा अगाडि रहेको ग्लोबल आइएमई बैंकको निक्षेप साउनमा १३ अर्ब ६९ करोड रुपैयाँले घटेको छ । असारमा ७० खर्ब ४४ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप साउन मसान्तमा ६८ खर्ब ६७ अर्ब ५० करोड रुपैयाँमा झरेको छ ।
निक्षेप संकलनका आधारमा दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप भने बढेको छ । बैंकको निक्षेप ३ अर्ब ४१ करोड रुपैयाँले बढेर ६८ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा बैंकको निक्षेप ६८ खर्ब ५० अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
तेस्रो स्थानमा रहेको नबिल बैंकको निक्षेप ४ अर्ब ७२ करोड रुपैयाँले बढेको छ । असारमा ६० खर्ब ६० अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप साउनमा ६० खर्ब १८ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

चौथो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप १ अर्ब ९७ करोड रुपैयाँले बढेर ५२ खर्ब ९१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । असारमा बैंकको निक्षेप ५३ खर्ब ११ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
लक्ष्मी सनराइज बैंकको निक्षेप ५ अर्ब २ करोड रुपैयाँले बढेको छ । बैंकको निक्षेप ४२ खर्ब ८७ अर्ब ८० करोड रुपैयाँबाट बढेर ४३ खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
कुमारी बैंकको निक्षेप १० अर्ब ८४ करोड रुपैयाँले बढेर ४२ खर्ब ३५ अर्ब ६० करोड रुपैयाँ, नेपाल बैंकको निक्षेप १ अर्ब ७० करोड रुपैयाँले बढेर ४१ खर्ब ८ अर्ब रुपैयाँ, हिमालयन बैंकको निक्षेप भने ३ अर्ब ७४ करोड रुपैयाँले घटेर ३५ खर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।
कृषि विकास बैंकको निक्षेप ५ अर्ब ७८ करोड रुपैयाँले घटेर ३४ खर्ब ६० अर्ब रुपैयाँ, प्रभु बैंकको ७ अर्ब ४८ करोड रुपैयाँले घटेर ३४ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
एनआईसी एशिया बैंकको निक्षेपमा सबैभन्दा ठूलो प्रतिशतको कमी देखिएको छ । बैंकको निक्षेप १६ अर्ब २९ करोड रुपैयाँले घटेर ३२ खर्ब ९४ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।
सिद्धार्थ बैंकको निक्षेप ३ अर्ब ३० करोड रुपैयाँले घटेर ३२ खर्ब ८२ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब ७८ करोड रुपैयाँले बण्ेर ३१ खर्ब ८३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
एनएमबी बैंकको निक्षेप ३ अर्ब ४७ करोड रुपैयाँले घटेको छ । प्राइम बैंकको निक्षेप ८ अर्ब ४१ करोड रुपैयाँले घटेको छ ।
सानिमा बैंकको निक्षेपमा सामान्य कमी आएको छ । बैंकको निक्षेप ७ करोड रुपैयाँले घटेर २४ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँमा झरेको छ । सिटिजन्स बैंकको निक्षेप १ अर्ब ५५ करोड रुपैयाँले बढेको छ । असारमा २३ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ रहेको निक्षेप साउनमा २३ खर्ब ३८ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
माछापुच्छ्रे बैंकको निक्षेप भने ५४ करोड रुपैयाँले घटेको छ । नेपाल एसबिआई बैंकको निक्षेप ७ अर्ब ८० करोड रुपैयाँले बढेर २२ खर्ब ५ करोड ५० करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप २ अर्ब ३५ करोड रुपैयाँले बढेर १५ खर्ब २३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।









