भृकुटीमण्डपमा भोलिदेखि ‘अटोमोबाइलको महाकुम्भ’, स्वर्ण जयन्तीमा नाडाले यसरी गर्दैछ भव्य तयारी

काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्रको विकास, विस्तार र बदलिँदो गतिशीलताको भव्य तस्वीर भृकुटीमण्डपमा देखिने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको स्वर्ण जयन्तीको अवसर पारेर आयोजना गर्न लागेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भोलि भदौ ९ गतेदेखि सुरु हुँदैछ।
भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने यो प्रदर्शनीलाई आयोजकले नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा प्रस्तुत गरेको छ। पाँच दशकअघि सन् १९७५ मा स्थापना भएको नाडाले आधा शताब्दीको यात्रा पूरा गर्दै गर्दा आयोजना हुन लागेको यस संस्करणले एउटा अटो शोभन्दा धेरै ठूलो अर्थ बोकेको छ। यो नेपाली अटोमोबाइल उद्योगले पाँच दशकमा तय गरेको यात्रा, हासिल गरेको उपलब्धि र अब अघि बढ्न खोजिरहेको नयाँ दिशाको जीवन्त प्रतिबिम्ब बन्ने अपेक्षा गरिएको छ।

भोलिदेखि प्रदर्शनी सुरु हुने भएपछि अहिले भृकुटीमण्डपमा तयारीले तीव्रता पाएको छ। विभिन्न ब्रान्ड, कम्पनी र प्रदर्शकहरूले आफ्ना स्टललाई अन्तिम रूप दिन धमाधम काम गरिरहेका छन्। सवारीसाधनका नयाँ मोडलदेखि अत्याधुनिक प्रविधि, विद्युतीय सवारी, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार र ग्यारेज उपकरणसम्मका सामग्री प्रदर्शनीस्थलमा सजिँदैछन्। नाडाले आज साँझसम्म सम्पूर्ण स्टल तथा आवश्यक तयारी पूरा हुने जनाएको छ।
प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ। उद्घाटनसँगै भृकुटीमण्डप केही दिनका लागि नेपालमा भइरहेको अटोमोबाइल परिवर्तन, प्रविधिको विकास र भविष्यको मोबिलिटीबारे प्रत्यक्ष अनुभव गर्न सकिने ठूलो मञ्चमा परिणत हुनेछ।

यसपटकको नाडा अटो शोको आकार र सहभागिताले पनि यसको महत्व स्पष्ट पार्ने जनाएको छ । प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधनका ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधनका ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे सवारीसाधनका ब्रान्डले प्रत्यक्ष सहभागिता जनाउँदैछन्। यसले नेपालमा उपलब्ध सवारीसाधनको बजार, उपभोक्ताको बदलिँदो रोजाइ र विश्व अटोमोबाइल बजारमा भइरहेका प्रविधिगत परिवर्तनलाई एउटै छानामुनि हेर्ने अवसर प्रदान गर्नेछ।
अटोमोबाइल केवल गाडी बिक्रीको विषयमा सीमित छैन। यससँग जोडिएको विशाल इकोसिस्टमलाई पनि नाडा अटो शोले एकै ठाउँमा ल्याउँदैछ। पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी करिब ७० कम्पनीको सहभागिता रहनेछ। त्यसैगरी १० वटा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीको उपस्थितिले सवारी खरिददेखि वित्तीय व्यवस्थापन र बिमासम्मको सम्पूर्ण पक्षलाई प्रदर्शनीसँग जोड्नेछ।

पछिल्लो समय नेपाली अटोमोबाइल बजारले जुन गति र स्वरूप ग्रहण गरेको छ, त्यसको आकार पनि निकै ठूलो छ। नेपालमा हालसम्म करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। विगत पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ। यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको तथ्यले अटोमोबाइल क्षेत्र अर्थतन्त्रका लागि कति महत्वपूर्ण बनिसकेको छ भन्ने देखाउँछ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पनि यस संस्करणलाई केवल संस्थाको उत्सवका रूपमा नभई सिंगो उद्योगको योगदानको लेखाजोखा गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार पाँच दशकको यात्रा कुनै उद्योगले कति बिक्री गर्यो भन्ने तथ्यमा मात्र होइन, उसले अर्थतन्त्र, रोजगारी, पूर्वाधार, प्रविधि र उपभोक्ताको जीवनशैलीमा कति योगदान पुर्यायो भन्ने आधारमा हेर्ने समय हो। यही भावनालाई बोकेर स्वर्ण जयन्ती संस्करणको नाडा अटो शो आयोजना हुँदैछ।

त्यसैले १८औँ नाडा अटो शो २०२६ लाई केवल नयाँ गाडी हेर्ने वा खरिद गर्ने स्थानका रूपमा मात्र हेर्नु यसको व्यापकतालाई साँघुरो बनाउनु हुनेछ। यो नेपाली अटोमोबाइल उद्योग कहाँबाट आयो, अहिले कहाँ पुगेको छ र आगामी दिनमा कुन दिशातर्फ अघि बढ्दैछ भन्ने बुझ्ने अवसर पनि हो।
भृकुटीमण्डपमा भोलिदेखि सुरु हुने यो विशाल प्रदर्शनीमा नयाँ पुस्ताका सवारीसाधन, नयाँ प्रविधि र बदलिँदो मोबिलिटी संस्कृतिले विशेष आकर्षण थप्नेछ। स्वर्ण जयन्तीको गौरव उद्योगको पाँच दशकको अनुभव र भविष्यको प्रविधिको संगमका रूपमा नाडा अटो शो २०२६ ले नेपाली अटोमोबाइल क्षेत्रको उत्साहलाई अझ उचाइ दिने अपेक्षा गरिएको छ।









