‘शेयर बजारमा लगानीकर्ताको ६ खर्ब डुब्दा अर्थमन्त्री भने चिठ्ठा खेलाउन व्यस्त’

८ भाद्र २०८३, सोमबार १६:१०

काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रतिको अविश्वासको संकेत भएको बताइन् । उनले बैंकमा लगानीयोग्य रकम पर्याप्त हुँदाहुँदै पनि निजी क्षेत्र लगानीका लागि अघि नबढ्नु गम्भीर आर्थिक चुनौती भएको उल्लेख गरिन् ।

सङ्ग्रौलाले अर्थमन्त्री स्वर्णिम वाग्लेले ३६ देश चिनेको दाबी गरिए पनि आफ्नै देशको आर्थिक अवस्था बुझ्न नसकेको आरोप लगाइन् । उनका अनुसार सरकारले ल्याएको बजेट कार्यान्वयनमा गएको पहिलो महिना नबित्दै त्यसको कमजोरी देखिन थालेको छ ।

उनले वर्तमान सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै यस्तो अवस्थामा सरकारले पुँजीबजार र समग्र अर्थतन्त्रका समस्या समाधानमा पर्याप्त ध्यान दिन नसकेको आरोप लगाइन् ।

‘अर्थमन्त्रीज्युले ३६ देशलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरूले भन्नुहुन्छ । तर उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन,’ उनले भनिन्, ‘उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो ।’

नेपालको अर्थतन्त्रमा पछिल्लो समय गम्भीर समस्या र कमजोरी देखिएको उल्लेख गर्दै सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न तयार नहुनुको कारण खोजिनुपर्ने बताइन् । उनले सरकारको आर्थिक नीतिप्रति व्यवसायीहरूको विश्वास कमजोर भएको हो कि भन्ने प्रश्नसमेत गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*