कोरला नाकामा शङ्कास्पद कन्टेनरको रहस्य : ६ छुटे, २ अझै अनुसन्धानमा

८ भाद्र २०८३, सोमबार १६:५६

काठमाडौँ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका आठ वटा कन्टेनरमध्ये राजस्व अनुसन्धान विभागले छ वटा कन्टेनर छाडेको छ । साउन ३० गते मुस्ताङको सदरमुकाम जोमसोमबाट प्रहरीले शङ्कास्पद भन्दै नियन्त्रणमा लिएका ती कन्टेनरमाथि अनुसन्धान गर्दा भन्सार जाँचपासको प्रमाणीकरण भएर आएको भेटिएपछि सम्बन्धित आयातकर्ताको जिम्मा लगाइएको हो ।

राजस्व अनुसन्धान विभागका निमित्त महानिर्देशक नरेन्द्र प्रकाश पाण्डेयका अनुसार नियन्त्रणमा लिइएका कन्टेनरमा रोल कपडा, प्लास्टिकका भाँडाकुँडा र पासिङ मेसिनका कभरलगायतका सामान भेटिएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा छ वटा कन्टेनरमा शङ्कास्पद सामान नभेटिएको र ती सामानको भन्सारसमेत तिरिएको पुष्टि भएको उनले बताए ।

पाण्डेयका अनुसार दुई वटा कन्टेनरमा ‘ड्रेस मेकिङ फेब्रिक’ आयात गरिएको थियो । ती सामानका आयातकर्ताले ६७ लाख रुपैयाँ भन्सार बुझाएको कागजात पेस गरेका छन् । त्यसैगरी प्लास्टिकका सामान आयात गर्ने व्यवसायीले ३६ लाख रुपैयाँ भन्सार तिरेको देखिएको विभागले जनाएको छ ।

‘मुस्ताङबाट ल्याइएका ६ वटा कन्टेनरमा शङ्कास्पद सामान भेटिएन, भन्सार तिरेर आएको भेटिएको छ,’ निमित्त महानिर्देशक पाण्डेयले भने ।

बाँकी दुई वटा कन्टेनरमाथि भने अनुसन्धान जारी रहेको विभागले जनाएको छ । अनुसन्धान अधिकृतहरूले ती कन्टेनरका प्रज्ञापनपत्र र भित्र रहेका सामानको विवरण जाँच गरिरहेका छन् । विभागका अनुसार ती सामान बेसमार्क इन्टरनेसनल, मार्फा र काइजेन इन्टरनेसनलले आयात गरेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागमा पठाएका कन्टेनरमा बा प्र ०१–००५ ख २२४५, बा प्र ०१–००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा प्र ०१–००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१–००६ ख ६६११ नम्बरका कन्टेनर रहेका थिए ।

नेपाल–चीन उत्तरी कोरला नाका गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएपछि नाकाबाट अवैध रूपमा सामान ओसारपसार गर्ने मालवाहक कन्टेनरमाथि निगरानी बढाइएको छ । यस क्रममा आर्थिक वर्ष २०८२/८३ को पुस ९ गते कोरला नाकाबाट भित्र्याइएको करिब दुई करोड २४ लाख रुपैयाँ मूल्य बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो ।

त्यस्तै, सोही आर्थिक वर्षको जेठ २ गते पनि लुकाएर ल्याइएका २० हजार थान विद्युतीय चुरोट सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो । पछिल्लो पटक पनि शङ्कास्पद देखिएपछि आठ वटा कन्टेनर नियन्त्रणमा लिइएकोमा छ वटाको अनुसन्धान पूरा भई छाडिएको र दुई वटामाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*