भेरी बबई काण्डमा मुछिएका कोइरालालाई कामु सिईओको जिम्मेवारी, प्रमाण नष्ट गर्ने खतरा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कामु सिईओमा सुभाष कोइरालालाई चयन गरिएको छ । गत साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले सिईओ शिवहरि श्रेष्ठको राजिनामा स्वीकृत गरी कामु सिईओको जिम्मेवारीमा भेरी बबई काण्डमा मुछिएका विवादित व्यक्ति कोइरालालाई दिने निर्णय गरिएको हो ।
२०७७ सालमा योजनाबद्ध तरिकाले घटाइएको सो घटनामा राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुभाष कोइरालाको संलग्नता रहेको बीमा प्राधिकरणले गरेको छानविनबाट देखिएको थियो । कूल दुई करोड रुपैयाँको काम सम्पन्न भएको भेरी बबई आयोजनालाई २०७७ साल असार ८ गते आएको बाढीले बगाएको थियो । सो क्षतिलाई कूल बीमाङ्क रकम आठ करोड ६० लाख रुपैयाँको क्षति भएको भन्दै फर्जी दावी खडा गरी रमन कन्ट्रक्सनलाई भुक्तानी गरिएको थियो ।
बीमा सर्भेयरसँगको सेटिङमा हुँदै नभएको काम र संरचना तयार भएको भनि कूल आठ करोड ८८ लाख ३० हजार रुपैयाँको बिल देखाएर सेटिङमा दावी गरिएको थियो भने राष्ट्रिय बीमा कम्पनीका तत्कालिन कामु सिईओ सुभाष कोइरालाले आठ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेका थिए । पछि अध्ययनको क्रममा सो रमन कन्ट्रक्सन कम्पनीले भेरी बबई सिंचाई आयोजनामा क्षति भएको संरचनामा जम्मा दुई करोड भन्दा केही बढी रकमको मात्रै निर्माण सम्पन्न भएको प्रमाण पेश गरी भुक्तानी लिएको भेटिएको थियो ।
आयोजनासँग दुई करोड चानचुनको निर्माण सम्पन्न भएको दावी गरी बिल पेश गरी रकम लिएको तर बीमा कम्पनीमा भने आयोजना नै सम्पन्न भए जसरी हुँदै नभएको आयोजनालाई बाढी बगायो भनेर सेटिङ गरिएको थियो । सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत चासो व्यक्त गरेकोमा बीमा प्राधिकरणले कुनै कारवाही गर्न नसकी अलपत्र पारिएर राखिएको अवस्था छ ।
अहिले यही विवादित काण्डमा परेका व्यक्तिलाई पुनः कामु सिईको जिम्मेवारी तोकिँदा उक्त घोटालाको प्रमाणहरु सबै नष्ट हुने जोखिम बढेको छ । स्रोतका अनुसार बीमा प्राधिकरणले पनि तत्कालिन कामु सिईओ कोइराला, तत्कालिन अध्यक्ष उमेश चन्द्र उपाध्याय र लेखा प्रमुखलाई कारवाही गर्न सिफारिस गरिसकेको छ । तर, सो प्रतिवेदन नै प्राधिकरणमा बेपत्ते भएको बुझिएको छ ।

अध्यक्ष निर्मल ढकाल
राष्ट्रिय बीमा कम्पनीमा अहिले अध्यक्षको भूमिका अर्थमन्त्रालयका सह सचिव निर्मल ढकाल छन् । ढकालले नै कोइरालालाई कामु सिईओको जिम्मेवारी तोकेको बुझिएको छ ।
महालेखा परिक्षकको ६२ औं प्रतिवेदनमा समेत राष्ट्रिय बीमा कम्पनीको भेरी बबई सिंचाई आयोजनामा राष्ट्रिय बीमा कम्पनीबाट छ करोड भन्दा बढी रकम गैर रुपमा दावी भुक्तानी गरेको उल्लेख छ । सो रकम न त फिर्ता गरिएको छ न त दोषीलाई कारवाही नै ।









