बीमा योजना ‘फिक्स्ड डिपोजिट’ भन्दै बेच्न नपाइने, भ्रामक प्रचारमा प्राधिकरणको कडाइ

९ भाद्र २०८३, मंगलवार ०७:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन तथा लघु जीवन बीमकहरूलाई बीमा योजनाको बिक्रीमा हुने गलत अभ्यास  नियन्त्रण गर्न कडा निर्देशन दिएको छ।

प्राधिकरणले बीमा योजनालाई ‘Fixed Deposit Plan’, ‘ब्याज दिने योजना’, ‘डबल मनी योजना’ वा निश्चित लगानी प्रतिफल दिने निक्षेप तथा लगानी योजनाका रूपमा प्रस्तुत गरी बिक्री गर्न रोक लगाएको हो।

प्राधिकरणले बीमा व्यवसाय बीमितको आर्थिक जोखिम हस्तान्तरण तथा वित्तीय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित संवेदनशील सेवा भएकाले बीमा योजना बिक्री गर्दा बीमितलाई सही, स्पष्ट, पूर्ण तथा तथ्यपरक सूचना उपलब्ध गराउनुपर्ने जनाएको छ।

नयाँ निर्देशनअनुसार बीमक तथा अभिकर्ताले बीमालेखका शर्त तथा प्राधिकरणबाट स्वीकृत लाभभन्दा बाहिर गएर निश्चित बोनस, प्रतिफल, रकम वा अन्य लाभ प्राप्त हुने आश्वासन दिन पाउने छैनन्।

त्यस्तै, बीमा कम्पनीले स्वीकृत गरेको प्रचार सामग्रीबाहेक अभिकर्ताले आफूखुसी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट बीमा योजनाको प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरिएको छ।

बीमा प्रस्ताव पेश गर्दा ग्राहकलाई बीमा योजना निक्षेप वाFixed Deposit नभएको विषय स्पष्ट रूपमा बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बीमक तथा अभिकर्तालाई बीमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत तथा बीमा उद्देश्यलाई ध्यानमा राखेर उपयुक्त बीमा योजना सिफारिस गर्न पनि निर्देशन दिएको छ।

त्यसैगरी, बीमा कम्पनीहरूले अभिकर्ताले प्रयोग गर्ने बिक्री सामग्रीको परीक्षण गर्नुपर्ने, ग्राहक गुनासोको विश्लेषण तथा सम्बोधन गर्नुपर्ने र सामाजिक सञ्जालमार्फत हुने बीमा प्रचारप्रसारको नियमित अनुगमन गर्नुपर्नेछ।

त्रैमासिक रूपमा गुनासोको विवरण बुझाउनुपर्ने

प्राधिकरणलेMis-selling सम्बन्धी गुनासोको छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ। बीमकहरूले त्यस्ता गुनासोको संख्या, प्रकृति, समाधान तथा गरिएको कारबाहीको विवरण प्रत्येक त्रैमासिक रूपमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणको पछिल्लो निर्देशनसँगै बीमा योजनालाई बैंकको निक्षेपजस्तो देखाएर बिक्री गर्ने, निश्चित प्रतिफलको प्रलोभन दिने तथा स्वीकृतिबिनाका प्रचार सामग्री प्रयोग गर्ने अभिकर्तामाथि नियामकीय निगरानी थप कडा हुने देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*