निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ, अटो क्षेत्र विलासिताको वस्तु होइनः नाडा अध्यक्ष उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको पूर्वाधार विकास पर्याप्त रूपमा अघि बढ्न नसकेको बताएका छन्। उनले काठमाडौंमा ठूलो सभा हल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थापनाको ५०औं वर्ष पूरा गरेको स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा बोल्दै अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताए।
उनका अनुसार अटोमोबाइल क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ। यस क्षेत्रबाट राज्यले राजस्व आर्जन गर्नुका साथै समग्र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण योगदान पुगिरहेको उनले बताए।
अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई देशको अर्थतन्त्रमा सहयोग गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा बुझ्नुपर्ने धारणा राखे। निजी क्षेत्रमाथि विश्वासको वातावरण निर्माण गरी लगानी र व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। उनले देशको आर्थिक गतिविधिलाई थप गतिशील बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।









