बालेनको आँखामा समस्या

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ०बालेन) ले आँखामा समस्या देखिएपछि संसद्मा कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन्।
प्रधानमन्त्री शाहको सचिवालयले स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले केही समय कालो चस्मा लगाउन सुझाव दिएको जानकारीसहित संसद् सचिवालयलाई पत्र पठाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री शाहको साउन २२ गते आँखाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि चिकित्सक डा। सचित ढकालले आँखाको अवस्थाका कारण कालो चस्मा लगाउन सुझाव दिएका थिए। सोही चिकित्सकीय सुझावसहितको पत्र प्रधानमन्त्रीको सचिवालयले साउन २६ गते संसद् सचिवालयलाई पठाएको हो।
यसअघि संसद्मा कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठकमा कालो चस्मा लगाउन निषेध गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री शाहको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उक्त विषयमा संसद् सचिवालयलाई जानकारी गराइएको हो।
प्रधानमन्त्री शाहले भोलि संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार उनी कालो चस्मा लगाएरै संसद्मा उपस्थित हुने तयारीमा छन्।









