टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, यस्ता छन् विशेषता

९ भाद्र २०८३, मंगलवार १२:३४

काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभीको नेपालमा प्रि-बुकिङ सुरु भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोबाट सिएरा ईभीको बुकिङ लिन थालेको हो ।

कम्पनीले हालसम्म एसयूभीको आधिकारिक मूल्य सार्वजनिक गरेको छैन । ग्राहकबाट टोकन रकम लिएर प्रि-बुकिङ सुरु गरिएको सिप्रदीले जनाएको छ । अहिले बुकिङ गर्ने ग्राहकलाई दशैं आसपास गाडी उपलब्ध गराउने तयारी कम्पनीको छ ।

सिएरा ईभी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । यसमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका ब्याट्री प्याक छन् । कम्पनीका अनुसार यी ब्याट्रीले क्रमशः ५३५ किलोमिटर र ६६५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छन् । १५ मिनेटको फास्ट चार्जिङबाट करिब २६३ किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी पनि गरिएको छ ।

पावरका हिसाबले रियर ह्वील ड्राइभ (RWD) मोडलमा १७५ किलोवाट र अल ह्वील ड्राइभ (AWD) भेरियन्टमा २२५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । एसयूभीले अधिकतम ५०४ न्यूटन मिटर टर्क उत्पादन गर्छ ।

सिएरा ईभीका विभिन्न भेरियन्टमा अगाडिको डिजाइन समान राखिएको छ । यसमा फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडलाइट, फ्लस-टाइप डोर ह्यान्डल, सिग्नेचर सिएरा रियर क्वाटर ग्लास, १८ इन्चका ह्वील, रुफ स्पोइलर र शार्क-फिन एन्टेना जस्ता डिजाइन एलिमेन्ट छन् । सस्पेन्सनतर्फ अल्ट्रा गाइड तथा फ्रिक्वेन्सी-डिपेन्डेन्ट ड्याम्पिङ प्रविधिको प्रयोग गरिएको छ भने पछाडि इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको छ ।

एसयूभीको इन्ट्री भेरियन्टमै भ्वाइस असिस्टेड प्यानोरामिक सनरुफ उपलब्ध हुने कम्पनीले जनाएको छ । बक्सी डिजाइन, आकर्षक बाहिरी लुक र उच्च ग्राउण्ड क्लियरेन्ससँगै यसको इन्टेरियरलाई पनि आधुनिक तथा सुविधासम्पन्न बनाइएको छ ।

एक्टी डट ईभी प्लेटफर्ममा आधारित सिएरा ईभीको क्याबिन डुअल-टोन थिममा तयार गरिएको छ । यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, ८-स्पीकर अडियो सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ-माउन्टेड कन्ट्रोल र किलेस इन्ट्रीलगायतका फिचर छन् ।

कनेक्टिभिटीका लागि आईआरए डट ईभी (iRA.ev) कनेक्टेड कार सुइट समावेश गरिएको छ । यसमा ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर उपलब्ध छन् । ५जी कनेक्टिभिटी, वायरलेस चार्जिङ र १५ वटा मल्टिमिडिया फिचरले एसयूभीलाई थप प्रविधिमैत्री बनाएका छन् ।

सुरक्षामा पनि सिएरा ईभीलाई पर्याप्त फिचरले सुसज्जित गरिएको छ । यसमा ६ वटा एयरब्यागका साथै इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्रामअन्तर्गत १९ वटा सुरक्षा फिचर समावेश छन् । चारै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको एसयूभीमा रियर पार्किङ सेन्सर र डाइनामिक गाइडलाइनसहितको रियर क्यामेरा पनि सुरुवाती भेरियन्टमै उपलब्ध हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*