व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर अवस्थामा छः अध्यक्ष अन्जन श्रेष्ठ

९ भाद्र २०८३, मंगलवार १२:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै निजी क्षेत्रको कमजोर मनोबल सुधार गर्न सरकारले स्पष्ट रणनीतिसहित अघि बढ्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले पछिल्लो समय बजारमा शिथिलता देखिएको र व्यापार–व्यवसायप्रति निजी क्षेत्रको मनोबल कमजोर बन्दै गएको बताए। करिब ३६ वर्षको आफ्नो व्यावसायिक यात्रामा व्यवसायीको मनोबल यति कमजोर अवस्थामा आफूले पहिलोपटक देखेको उनको भनाइ छ।

नयाँ सरकारले अर्थतन्त्रलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै श्रेष्ठले आगामी पाँचदेखि सात वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ पुर्‍याउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारिएको बताए। तर ती लक्ष्य हासिल गर्न सरकारले कुन रणनीति र कार्ययोजनामार्फत काम गरिरहेको छ भन्ने विषयमा निजी क्षेत्र स्पष्ट हुन नसकेको उनले बताए।

उनले अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने अवस्था देखिएको भन्दै सरकार, निजी क्षेत्रलगायत सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार आर्थिक गतिविधि बढाउन दीर्घकालीन र स्पष्ट नीति आवश्यक छ।

अटोमोबाइल क्षेत्रको उदाहरण दिँदै श्रेष्ठले गत आर्थिक वर्षमा नेपालमा करिब १०६ अर्ब रुपैयाँ बराबरका अटोमोबाइल तथा सम्बन्धित सामग्री आयात भएको र त्यसबाट सरकारले करिब ८१ अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको बताए। करिब १८ खर्ब रुपैयाँको कुल आयातमध्ये अटोमोबाइल क्षेत्रबाट मात्रै उल्लेख्य राजस्व योगदान भएको उनको भनाइ छ।

राज्यलाई ठूलो मात्रामा राजस्व योगदान गर्ने अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत पुनर्विचार गर्नुपर्ने श्रेष्ठले बताए। उनले यस क्षेत्रको व्यवसाय, उद्योग र लगानीको अवस्थालाई सरकारले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने धारणा राखे।

श्रेष्ठले विगतमा अटोमोबाइल क्षेत्रमा उच्च भन्सारदर रहेको भन्दै तत्कालीन अर्थमन्त्री डा. रामशरण महतसँग भन्सारदर घटाउन आग्रह गरिएको स्मरण गरे। त्यस क्रममा निजी क्षेत्रलाई नेपालमै उद्योग स्थापना गर्न प्रोत्साहन गरिएको र केही व्यवसायीले उद्योगसमेत स्थापना गरेको उनले बताए। तर ती उद्योग अहिले कस्तो अवस्थामा छन् भन्नेबारे सरकारले पर्याप्त चासो नदिएको उनको भनाइ छ।

सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योग सञ्चालन गर्ने विषयलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै श्रेष्ठले निजी क्षेत्रले सञ्चालन गरिरहेका उद्योगको अवस्थाबारे पनि उत्तिकै ध्यान दिनुपर्ने बताए। निजी क्षेत्रका उद्योगलाई संरक्षण र प्रोत्साहन गर्न सके उत्पादन र रोजगारी दुवै बढाउन सहयोग पुग्ने उनको भनाइ छ।

उनले ‘भुइँको टिप्छु भन्दा पोल्टाको पनि झर्न सक्छ’ भन्ने उखान उल्लेख गर्दै आयात घटाउने नाममा अहिले भइरहेको व्यापार र राजस्व योगदानलाई कमजोर पार्ने नीति लिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए।

नेपालमा पछिल्लो समय अटोमोबाइल क्षेत्रका स्पेयर पाट्र्स मात्रै करिब २२ अर्ब रुपैयाँ बराबरको आयात हुने गरेको उल्लेख गर्दै उनले यसको ठूलो इकोसिस्टम रहेको बताए। आयातमा निर्भरता घटाउन नेपालमै उत्पादन, एसेम्बलिङ तथा सम्बन्धित उद्योग विस्तार गर्न सकिने क्षेत्र पहिचान गर्नुपर्ने उनको धारणा छ।

नेपालमा उपलब्ध मानव पुँजीको अधिकतम उपयोग गर्दै उद्यमशीलता विकास गर्नुपर्नेमा समेत श्रेष्ठले जोड दिए। आगामी वर्षहरूमा अहिले उपलब्ध मानव पुँजीको अवस्था परिवर्तन हुन सक्ने भएकाले युवाको सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।

नेपालमा रोजगारी सिर्जना गर्ने मुख्य आधार उद्योग स्थापना र विस्तार नै भएको उल्लेख गर्दै श्रेष्ठले उद्योग बढे उत्पादनसँगै रोजगारी र श्रमिकको आम्दानीसमेत बढ्ने बताए। अटोमोबाइल क्षेत्रको विकास तथा स्वदेशी उत्पादन विस्तारका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ सरकारसँग सहकार्य गर्न तयार रहेको पनि श्रेष्ठले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*