राताम्य यात्राले पायो निरन्तरताः गुम्दै अर्बौं लगानी, किन त्रसित लगानीकर्ता ?

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय देखिएको निरन्तरको दबाबलाई केवल सूचक घटबढको सामान्य चक्रका रूपमा हेर्नु पर्याप्त देखिँदैन । कारोबार भइरहे पनि खरिद पक्षमा अपेक्षित सक्रियता नदेखिनु र बजारले पटक–पटक उकासिन खोज्दा पनि दिगो गति लिन नसक्नुले लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको संकेत गर्छ । बजारमा नयाँ अवसर खोज्नेभन्दा जोखिम घटाउने सोच बलियो बन्दै गएको छ । आर्थिक तथा मौद्रिक वातावरण, नीतिगत निर्णयको अनिश्चितता र बजार सुधारका योजनाप्रतिको अस्पष्टताले लगानीकर्तालाई तत्काल निर्णय लिनुभन्दा अवस्था स्पष्ट नभएसम्म पर्खने मनस्थितिमा पुर्याएको देखिन्छ । परिणामतः बजारमा माग सिर्जना गर्नेभन्दा जोखिम व्यवस्थापन गर्ने प्रवृत्ति हावी हुँदा सूचकमा त्यसको प्रत्यक्ष प्रभाव परिरहेको छ ।
यसैबीच शेयर बजारमा परिचालित पूँजीको स्रोत र सम्पत्ति शुद्धीकरणसम्बन्धी सरकारी अनुसन्धानले बजारको मनोवैज्ञानिक दबाब अझ बढाएको छ । कानुनी तथा नियामकीय प्रक्रिया आवश्यक भए पनि त्यसको प्रभाव स्वच्छ रूपमा कारोबार गरिरहेका लगानीकर्ताको मनोविज्ञानमा समेत पर्न थालेको देखिन्छ । आफ्नो लगानीको स्रोत प्रमाणित गर्नुपर्ने अवस्था आउन सक्ने त्रासले कतिपय लगानीकर्तालाई नयाँ पूँजी परिचालन गर्नबाट पछि हटाउने तथा विद्यमान सम्पत्ति जोगाएर बस्ने मानसिकतातर्फ धकेको छ ।
अर्कोतर्फ, अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारलाई क्षणिक रूपमा उचाल्नेभन्दा दीर्घकालीन रूपमा सबल, पारदर्शी र व्यवस्थित बनाउने सुधारलाई प्राथमिकता दिने धारणा राख्दै आएका छन् । दीर्घकालीन सुधारको उद्देश्य सकारात्मक भए पनि अहिलेको बजारलाई चाहिएको कुरा केवल आश्वासन नभई त्यसको स्पष्ट कार्यान्वयन हो । सरकार र नियामक निकायले पूँजी बजार सुधारका विषयमा व्यक्त गरेका प्रतिबद्धता व्यवहारमा कहिले र कसरी देखिन्छन् भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ । नीति निर्माणको समयसीमा, नियमनको स्पष्टता, स्वच्छ कारोबार गर्ने लगानीकर्ताको संरक्षण र बजारमा संस्थागत विश्वास बढाउने ठोस कदमबारे स्पष्टता नआएसम्म लगानीकर्ताको मनोवैज्ञानिक संकट सहजै हट्ने अवस्था देखिँदैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३० अकंले घटेर २५९४.२७ बिन्दुमा कायम भएको छ । आज ३५७ कम्पनीको १ करोड ४४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोडको कारोबार भएको हो ।
आज ११ समूहको शेयर मूल्य राताम्य भएका छन् । आज विकास बैंक र निर्जीवन बीमा समूहको शेयर मूल्य सामान्य बढेको छ ।
मंगलबार ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।










