लुकेका ह्यान्डल बने सुरक्षाको जोखिम, चीनबाट झन्डै ३० लाख गाडी फिर्ता गर्दै टेस्ला

काठमाडौँ । विद्युतीय सवारीसाधनमा आधुनिक र आकर्षक देखिन प्रयोग हुँदै आएका लुकेका ढोकाका ह्यान्डल सुरक्षा जोखिमको कारण विवादमा परेका छन्। ढोकाको ह्यान्डल आपत्कालीन अवस्थामा पहिचान गर्न तथा खोल्न कठिन हुने समस्या देखिएपछि चीनमा झण्डै ३० लाखभन्दा बढी सवारीसाधन फिर्ता बोलाउने प्रक्रिया अघि बढाइएको छ।
फिर्ता बोलाइने सवारीसाधनमा चीनमै उत्पादन भएका टेस्लाका करिब २९ लाख ८० हजार सवारीसाधनसमेत छन्। टेस्लाका साथै एक्सपेङ, सियाओमी र जिली लगायतका चिनियाँ सवारीसाधन निर्माता कम्पनीका विभिन्न मोडेलसमेत यस अभियानको दायरामा परेका छन्।
सुरक्षा अधिकारी र सवारीसाधन निर्माताहरूका अनुसार दुर्घटनाका बेला गाडीको कम भोल्टेज विद्युत् प्रणाली बन्द भएमा लुकेका ढोकाका ह्यान्डल सञ्चालन गर्न कठिन हुन सक्छ। सामान्य अवस्थामा गाडीको बाहिरी भागसँगै मिलेर बसेका ह्यान्डल आकर्षक देखिए पनि आपत्कालीन अवस्थामा यात्रुले ह्यान्डल कहाँ छ भनेर पहिचान गर्नै कठिन हुने अवस्था आउन सक्छ।
गम्भीर दुर्घटनापछि विद्युत् प्रणाली बन्द हुँदा यात्रुहरूले तत्काल ढोका खोल्न नसक्ने र बाहिरबाट उद्धार गर्न आउने व्यक्तिले समेत ढोका खोल्न कठिनाइ भोग्न सक्ने जोखिम देखिएको छ। यस्तो अवस्थामा केही सेकेन्डको ढिलाइसमेत यात्रुको जीवनका लागि गम्भीर बन्न सक्ने भएकाले लुकेका ह्यान्डलको सुरक्षा पक्षमाथि प्रश्न उठेको हो।
टेस्लाले आफ्ना केही मोडेल तीन, मोडेल वाई, मोडेल एस र मोडेल एक्स सवारीसाधन फिर्ता बोलाउन लागिएको जनाएको छ। कम्पनीका अनुसार ढोकाका ह्यान्डल गाडीको भित्री सजावटसँग मिल्दोजुल्दो रङका भएकाले आपत्कालीन अवस्थामा पहिचान गर्न र सञ्चालन गर्न कठिन हुन सक्छ। कम्पनीले गम्भीर दुर्घटनाका कारण गाडीको कम भोल्टेज विद्युत् प्रणाली बन्द भएको अवस्थामा यात्रुले छिटो ढोका खोल्न नसक्ने तथा बाहिरबाट उद्धार गर्न आउनेलाई समेत कठिनाइ हुन सक्ने जोखिम स्वीकार गरेको छ।
फिर्ता बोलाइएका सवारीसाधनमा ढोकाको ह्यान्डलसम्बन्धी चेतावनी सूचना टाँसिनेछ। त्यसैगरी दुर्घटना भएपछि गाडीका झ्याल स्वतः तल झर्ने व्यवस्था मिलाउन विद्युतीय प्रणालीमा सुधार गरिनेछ। यसले दुर्घटनापछि यात्रुलाई गाडीबाट बाहिर निस्कन सहज बनाउने अपेक्षा गरिएको छ।
नेपालमा भने चीनमा गरिएको यो ठूलो फिर्ता अभियानको तत्काल प्रत्यक्ष प्रभाव पर्ने सम्भावना छैन । नेपालमा प्रयोग हुने सवारीसाधनको मोडेल सो दायरामा नआउने जनाइएको छ ।









