मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार अभियोग लागेका हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलास मंगलबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले माग बमोजिमको २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत दिएमा तारिखमा राखी मुद्दाको पुरपक्ष गर्न र नदिएमा कारागार कार्यालय पठाउन आदेश दिएको छ।
कर्णविरुद्ध ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन, प्रयोग र स्रोत लुकाएको अभियोग छ।
कर्णले हिमालयन लाइफ इन्स्योरेन्सको सीईओ रहँदा ओहोदाको दुरुपयोग गरी अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा नेपाल रिइन्स्योरेन्सको सेयर कर्नरिङ, मूल्य उतारचढाव र बिमा कोषको रकम दुरुपयोग गरी गैरकानुनी लाभ लिएको आरोपपत्रमा उल्लेख छ।
अदालतमा बयानका क्रममा कर्णले आफूले बीमा प्राधिकरणको स्वीकृति लिएर कम्पनीको मुनाफाका लागि सेयर लगानी गरेको र सेयरको कृत्रिम मूल्य सिर्जना तथा कोषको रकम दुरुपयोगमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।









