अब ब्रोकरको कार्यालय सञ्चालन र कारोबारको पैसा छुट्टाछुट्टै खातामा, लगानीकर्ताको रकम दुई दिनभित्रै दिनुपर्ने

१० भाद्र २०८३, बुधबार ०८:२४

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लगानीकर्ताको हित संरक्षण गर्न धितोपत्र दलाल व्यवसायी अर्थात् ब्रोकर कम्पनीहरूलाई थप जिम्मेवार बनाउने गरी नयाँ निर्देशन दिएको छ।

पूँजी बजार विकास मार्गचित्र २०८३ तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा बोर्डले ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताको रकम, कारोबार र गुनासो व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएको हो।

निर्देशनअनुसार अब ब्रोकरहरूले आफ्नो कार्यालय सञ्चालनका लागि प्रयोग गर्ने रकम र ग्राहकको शेयर कारोबारसँग सम्बन्धित रकम छुट्टाछुट्टै बैंक खातामा राख्नुपर्नेछ।

त्यस्तै शेयर बिक्री गरेपछि लगानीकर्ताले पाउनुपर्ने रकम कारोबार भएको दुई कार्यदिनभित्र अर्थात् टी प्लस टु अवधिमै उपलब्ध गराउनुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न बोर्डले निर्देशन दिएको छ। यसअघि शेयर बिक्रीपछि रकम पाउन ढिलाइ भएको भन्दै लगानीकर्ताले गुनासो गर्दै आएका थिए।

बोर्डले ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताका गुनासा समाधान गर्न छुट्टै लगानीकर्ता गुनासो समाधान इकाई स्थापना गर्न पनि भनेको छ। उक्त इकाईले प्राप्त गुनासोको अभिलेख राख्दै समाधानको प्रक्रिया व्यवस्थित गर्नुपर्नेछ।

ब्रोकर कम्पनीहरूले हरेक महिनामा प्राप्त भएका गुनासा र तिनको समाधानसम्बन्धी विवरण पनि बोर्डमा बुझाउनुपर्नेछ। महिनाभरि प्राप्त भएका गुनासा र समाधानको विवरण अर्को महिनाको तीन दिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैगरी लगानीकर्तालाई शेयर बजार, जोखिम र लगानीसम्बन्धी आधारभूत जानकारी दिन प्रत्येक ब्रोकर कम्पनीले महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*