नापी कार्यालयका सर्भेक्षकसँग ३ करोड ७१ लाख गैरकानूनी सम्पत्ति, अन्ततः अख्तियारको फन्दामा

१० भाद्र २०८३, बुधबार ०९:३२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार साहले सरकारी जागिरमा प्रवेश गरेको मिति २०४६ साल वैशाख १६ गतेदेखि २०८१ साल जेठ ३२ गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरी उनको र एकाघर परिवारका सदस्यको आय तथा खर्चको विस्तृत अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा साहको परिवारले विभिन्न स्रोतबाट जम्मा ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ वैधानिक आय गरेको देखिएको आयोगले जनाएको छ। उक्त आम्दानीमा पारिश्रमिक तथा भत्ताबाट भएको बचत, घरजग्गा बिक्री, ऋण तथा सापटी, शेयर बिक्री, बीमा, कृषि, छात्रवृत्ति, ब्याज, सुन बिक्रीलगायतका आय समावेश छन्। तर सोही अवधिमा जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण तथा सापटी तिर्न, बैंक मौज्दात र अन्य लगानीलगायतमा गरी ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगको अनुसन्धानबाट देखिएको छ।

यसरी अनुसन्धानमा वैधानिक आय र कुल खर्च तथा लगानीबीच ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बराबरको फरक देखिएको हो। उक्त रकमको स्रोत पुष्टि हुन नसकेको र सम्पत्ति विवरणसँग समेत नमिलेको भन्दै आयोगले सो रकम गैरकानूनी तवरले भ्रष्टाचारमार्फत् आर्जन गरेको निष्कर्ष निकालेको हो। आयोगका अनुसार स्रोत नखुलेको सम्पत्तिमध्ये केही सम्पत्ति साहकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत रहेको पाइएपछि गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी कायम गरिएको छ।

अख्तियारले साहविरुद्ध बिगोअनुसार कैद तथा बिगो बराबर जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाएको कसुरमा समेत कानुनबमोजिम सजायको मागदाबी गरेको छ। यस्तै साहकी श्रीमती सुमिन्त्रा देवी साहविरुद्ध भने गैरकानुनी रूपमा आर्जन गरिएको स्रोत नखुलेको सम्पत्तिबाट उनको नाममा खरिद तथा लगानी गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*