रसुवामा बाढी अपडेटः तीन प्रहरी कार्यालयमा क्षति, ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौँ । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवामा ठूलो क्षति भएको छ। बाढीले जिल्लाका तीन वटा प्रहरी कार्यालयमा क्षति पुर्याएको छ भने बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति पुगेको छ। ती कार्यालयमा भएको क्षति तथा त्यहाँ कार्यरत प्रहरी कर्मचारीको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, बीओपीमा खटिएका नौ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको भए पनि अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन।
रसुवामा एक्कासि आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका कार्यालय तथा कर्मचारीको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।









