भोटेकोशीको बाढी त्रिशूलीतर्फ बढ्यो, यी पाँच जिल्लाका तटीय क्षेत्र तहसनहस !

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि त्रिशूली नदीको तटीय क्षेत्र उच्च जोखिममा परेको छ । भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै तलतिर बढ्दै गएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा सतर्कता अपनाइएको छ ।
तिब्बततर्फबाट आएको बाढी गल्छी आसपासको क्षेत्रमा पुगिसकेको र अबको केही घण्टामा मुग्लिन पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीको बहावसँगै लेदो र पानीको मात्रा बढिरहेको भन्दै तटीय क्षेत्रमा दिनभर नै जोखिम कायम रहने अनुमान गरिएको छ ।
बाढीका कारण पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र प्रभावित हुने जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालयहरूले नदीमा पानीको बहाव अत्यधिक बढेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायले नदी आसपासका बस्तीमा माइकिङ गरेर सुरक्षित स्थानतर्फ जान आग्रह गरिरहेका छन् । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई धमाधम सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ । धादिङमा पनि जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया अघि बढाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै मुग्लिनसम्म पुग्ने देखिएको छ । त्यसपछि त्रिशूली नदीको तटीय क्षेत्रमा बहाव थप बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा विशेष सतर्कता अपनाउन भनिएको छ ।
प्रशासनले अर्को सूचना जारी नभएसम्म नदी आसपासका क्षेत्रमा नजान, अनावश्यक रूपमा सडक तथा पुल क्षेत्रमा ननिस्कन र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । कुनै पनि विपद्जन्य घटना घटेमा वा जोखिमको अवस्था देखिएमा तत्काल स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा खबर गर्न पनि प्रशासनले अपिल गरेको छ ।
आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरीको १११४ तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको नम्बर १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।









