रसुवागढी भन्सारको यार्डमा राखिएका सयौँ गाडी बाढीले बगायो, अटो शो र दशैंको तयारीमा धक्का

काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो २०२६ लाई लक्षित गर्दै चीनबाट नेपाल भित्रिने तयारीमा रहेका ठूलो संख्याका सवारीसाधन रसुवागढीमा आएको बाढीले बगाएको छ । तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा ठूलो क्षति पुर्याउनुका साथै भन्सार परिसरमा राखिएका सवारीसाधनसमेत बगाएको हो ।
अर्थ मन्त्रालयका अनुसार बाढीका कारण रसुवागढी भन्सार कार्यालयका संरचनामा पूर्णरूपमा क्षति पुगेको छ । भन्सार कार्यालयमा कार्यरत २५ जना कर्मचारी सम्पर्कमा आए पनि अझै १४ जना सम्पर्कविहीन छन् ।
भन्सारको यार्डमा भन्सार पासका लागि प्रक्रियामा रहेका सबैजसो सवारीसाधन बाढीले बगाएको जनाइएको छ । चीनबाट आयात गरी भन्सार पासको प्रक्रियामा रहेका तथा यार्डमा राखिएका सवारीसाधन बाढीको चपेटामा परेका हुन् ।
नाइमा मोबिलिटी एक्स्पो सम्पन्न भइसकेको छ भने नाडा अटो शो २०२६ अहिले सञ्चालन भइरहेको छ । यी अटो मेलालाई लक्षित गरी व्यवसायीहरूले ठूलो संख्यामा सवारीसाधन आयात गरेका थिए । मेलामार्फत उपभोक्ताले विभिन्न ब्रान्डका सवारीसाधन बुकिङ गर्ने भएकाले मागअनुसार आपूर्ति गर्न व्यवसायीहरूले सवारीसाधन आयात बढाएका थिए ।
त्यसैगरी दसैँ–तिहारमा सवारीसाधन खरिद गर्ने ग्राहकको संख्या बढ्ने भएकाले पनि व्यवसायीहरूले यही समयमा आयातलाई प्राथमिकता दिएका थिए । तर, नेपाल–चीन प्रमुख व्यापारिक नाका रसुवागढी हुँदै भन्सार यार्डसम्म ल्याइएका ती सवारीसाधन बाढीले बगाएपछि व्यवसायीहरूलाई ठूलो क्षति पुगेको छ ।
रसुवागढी नाका हुँदै चीनका प्रमुख विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरू बीवाईडी, दिपल, सेरेस, जिकर र किया लगायतका सवारीसाधन नेपाल आयात हुँदै आएका छन् । यस नाकाबाट विद्युतीय कारसँगै विद्युतीय मोटरसाइकल तथा स्कुटर पनि आयात हुने गरेका छन् ।
त्यस्तै ट्रक, डम्पर, मिनिबस, माइक्रोबस, कंक्रिट मिक्सर, डेलिभरी भ्यान, क्रेन र ट्रेलरलगायतका व्यावसायिक तथा भारी सवारीसाधनसमेत यही नाका हुँदै नेपाल भित्रिने गरेका छन् । अटो शो र चाडपर्वको मुख्य बिक्री सिजनका लागि तयारी अवस्थामा राखिएका सवारीसाधन नै बाढीले बगाएपछि आयातकर्ता तथा व्यवसायीहरू थप समस्यामा परेका छन् ।









