रसुवा बाढीको बिषयमा बीमा कम्पनीलाई प्राधिकरणको के भन्यो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले बाढीबाट प्रभावित बीमित तथा सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउन र उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी हुन बीमा कम्पनीहरूलाई आग्रह गरेको हो। तत्काल कम्पनीमा कार्यरत कर्मचारीहरुको अवस्था र भैतिक संरचनाको बिषयमा ध्यान दिन समेत आग्रह गरिएको छ। अझै बाढीको जोखिम रहेको कारण वातावरण हेरेर मात्रै सर्भे गर्न दिने बिषयमा छलफल गरिएको प्राधिकरणको स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा जनधनको क्षति हुनुका साथै बीमा कम्पनीका कार्यालय, कर्मचारी तथा बीमितका सम्पत्तिसमेत प्रभावित भएका छन्। यस्तो अवस्थामा बीमा कम्पनीहरूले आफ्ना कर्मचारी तथा सम्बन्धित प्रतिनिधिमार्फत प्रभावित क्षेत्रको अवस्था बुझ्न र आवश्यक सहयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
त्यस्तै, बाढीबाट क्षति भएका बीमितका सम्पत्तिको प्रारम्भिक विवरण संकलन गरी बीमा दाबी प्रक्रियालाई सहज बनाउनसमेत प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले विपद्को समयमा बीमितलाई अनावश्यक झन्झट नदिई दाबी प्रक्रियालाई छिटो, सरल र प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउन पनि बीमकहरूलाई आग्रह गरेको छ।
रसुवामा आएको बाढीबाट बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्। प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन सरकारी तथा गैरसरकारी निकायहरू उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्।
बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन भएसँगै बीमा क्षेत्रमा परेको क्षति तथा सम्भावित बीमा दाबीको अवस्था स्पष्ट हुने प्राधिकरणले जनाएको छ।









