पूर्वराजा ज्ञानेन्द्रको आह्वान: ‘उद्धार र राहतमा एकजुट हौं, क्षति न्यूनीकरणमा त्रिदेशीय प्रयास गरौँ’

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले बाढीका कारण बजार, बस्ती तथा बासिन्दा, बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना लगायतका भौतिक संरचना तथा खेतीपातीमा अपार क्षति पुगेको घटनाले आफूहरूलाई अत्यन्तै दुःखित तुल्याएको बताएका छन्। प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै उनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
साथै, विपत्तिमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी कार्यलाई तीव्रता दिन आवश्यक रहेको बताएका छन्।
प्राकृतिक विपत्तिको यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई उनले आग्रह गरेका छन्। सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघ–संस्था तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपत्तिमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुनुपर्ने उनको भनाइ छ।
सीमासँग जोडिएका छिमेकी देशमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले अलग–अलग प्रयासभन्दा त्रिदेशीय संयुक्त प्रयासमार्फत यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न सकेमा अझ प्रभावकारी हुने तथ्यलाई सबैले मनन गर्न आवश्यक रहेको उनले बताएका छन्।









