उद्धारका लागि २० हेलिकोप्टर तयारी अवस्थामा, बाढीग्रस्त क्षेत्रमा थप १० परिचालित

११ भाद्र २०८३, बिहीबार ०९:०६

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले हेलिकोप्टर परिचालनको तयारी तीव्र बनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टरमार्फत आज बिहान ६ः३० बजेदेखि बाढीग्रस्त क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जानकारी दिएकी छन्।

यसैगरी बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन भइरहेका छन्। उद्धार तथा राहत आवश्यक पर्ने स्थानको पहिचान गरी प्राथमिकताका आधारमा हेलिकोप्टर पठाउने व्यवस्था गरिएको जनाएको छ।

प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा अन्य विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा उद्धार र राहत आवश्यक पर्ने स्थानको प्राथमिकता निर्धारण गरिने र सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार हेलिकोप्टर परिचालन गरिने मन्त्री गौतमले बताएकी छन्।

बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै सरकारी निकाय र सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइएको छ। पछिल्लो अवस्थाका आधारमा उद्धार तथा राहत कार्यलाई आवश्यकताअनुसार थप विस्तार गरिने मन्त्री गौतमले जानकारी दिएकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*