विपद् व्यवस्थापनमा सर्वदलीय एकताको प्रस्ताव, रविले भने ‘सबै एक ठाउँमा उभिऔँ’

११ भाद्र २०८३, बिहीबार १०:५६

काठमाडौं । सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्मको कामलाई प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस्तो प्रस्ताव राखेका हुन् ।

सिंहदरबारमा जारी सर्वदलीय बैठकमा लामिछानेले राहत, उद्धारदेखि पुनर्स्थापनासम्मको कामका लागि सर्वदलीय, संसदीय वा सर्वपक्षीय समितिमध्ये उपयुक्त संरचना गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । यस्तो समितिले सरकारलाई आवश्यक निर्णय लिन सहज हुने उनको भनाइ छ ।

‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस्,’ लामिछानेले भने ।

सरकारले सञ्चालन गरेको राहत तथा उद्धार कोषलाई एकद्वार प्रणालीका रूपमा लिएर सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । विपद्को अवस्थामा दलगत पहिचानभन्दा माथि उठेर राहत, उद्धार र पुनर्निर्माणमा सबै राजनीतिक दल सहभागी हुनुपर्ने उनको आग्रह छ ।

सामाजिक सञ्जालको सही सदुपयोगका लागि पनि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने लामिछानेले बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुरलगायत सहभागी छन् ।

त्यस्तै अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी र प्रवक्ता जगदिश खरेललगायत पनि बैठकमा उपस्थित छन् ।

बैठकको सुरुआत गर्दै लामिछानेले विपद्पछिको अवस्थामा सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि विपद्पछिको अवस्थामा सबै एकसाथ अगाडि बढ्नुपर्ने बताएका छन् । आफूहरू यसका लागि तयार रहेको भन्दै उनले खोज तथा उद्धारसँगै अन्य मानवीय सहयोगका लागि पार्टीका नेता तथा कार्यकर्ता परिचालन भइसकेको जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*