रसुवा बाढीपीडितका लागि सिमेन्ट उत्पादक संघको ५१ लाख सहयोग

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
गत साउन १० गते बुधबार सीमा क्षेत्रमा हिमताल फुटेर आएको भीषण बाढीले रसुवाको टिमुरे नाका हुँदै भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएपछि संघले उक्त सहयोगको घोषणा गरेको हो ।
संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको उद्धार, उपचार तथा सुरक्षित पुनर्स्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
‘विपत्तिको यस घडीमा हामी नेपाल सरकारको साथमा छौँ,’ संघले विज्ञप्तिमा भनेको छ ।
राष्ट्रिय विपत्तिका बेला निजी क्षेत्र टाढा रहन नसक्ने भन्दै संघले अन्य उद्योगी तथा व्यवसायीलाई पनि आफ्नो सामर्थ्यअनुसार राहत तथा पुनर्स्थापना अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको अवस्थामा संघको आर्थिक सहयोगले प्रभावितको राहत तथा पुनर्स्थापनामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । काठमाडौंको टकुमा प्रधान कार्यालय रहेको संघले यसअघि पनि विभिन्न राष्ट्रिय संकटका समयमा सरकार तथा नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ ।









