शव व्यवस्थापनको समाचार संकलनमा पत्रकारलाई रोक, महासंघले जनायो आपत्ति

१४ भाद्र २०८३, आईतवार ०८:३२

काठमाडौं । भोटेकोशी बाढीले बगाएर ल्याएका र चितवनस्थित नारायणी नदीमा फेला परेका पहिचान हुन बाँकी शवको व्यवस्थापनसम्बन्धी समाचार संकलनमा पत्रकारलाई रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

महासंघका अनुसार पत्रकार राधेश्याम खतिवडा, सन्तकुमार चौधरीलगायतलाई शव व्यवस्थापनका लागि निर्माण भइरहेको संरचनासम्बन्धी समाचार संकलन गर्ने क्रममा सुरक्षाकर्मीले रोक लगाएका थिए।

महासंघ चितवन शाखाका अनुसार पत्रकार खतिवडाको मोबाइलसमेत नियन्त्रणमा लिएर त्यसमा रहेका फोटो तथा भिडियो मेटाइएको थियो। भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएका शव व्यवस्थापनको विषय आम नागरिकको चासो र सरोकारसँग जोडिएको भन्दै महासंघले समाचार संकलनमा अवरोध गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आमसरोकारका विषयमा नागरिकलाई सुसूचित गराउनु पत्रकारको जिम्मेवारी भएको उल्लेख गर्दै समाचार संकलनमा अवरोध गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत हुने बताएको छ। घटनाको भत्र्सना गर्दै महासंघले आगामी दिनमा यस्ता व्यवहार नदोहोर्‍याउन सम्बन्धित निकायसँग माग गरेको छ।

महासंघले पत्रकारलाई निर्वाध रूपमा आफ्नो पेशागत जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन तथा समाचार संकलनका क्रममा अनावश्यक अवरोध नगर्न सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला पक्षको ध्यानाकर्षण समेत गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*