रसुवा बाढी अपडेटः ज्यान गुमाउनेको संख्या ७३४ पुग्यो, झण्डै २५ सय सम्पर्कविहीन

१४ भाद्र २०८३, आईतवार १०:०२

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्याउन गुमाउनेको संख्या ७३४ जना पुगेको छ भने हालसम्म २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यव्स्थापन प्राधिकरणका अनुसार हालसम्म विभिन्न आठवटा जिल्लामा गरी ७३४ वटा शव (विभिन्न मानव अंग सहित) फेला परेको हो। चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ वटा शव फेला परेको हो।

त्यसैगरी सम्पर्कविहीन हुनेमा जलविद्युत आयोजनाबाट ९३३ जना, रसुवाबाट ५२६ जना, विदेशी नागरिक ५८९ जना, विदेशी पर्यटकसँग घुम्न गएका १२७ जना नेपाली, नुवाकोटबाट ११५ जना, मकवानपुरबाट ६५ जना रहेका छन्।

त्यसैगरी नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २७ जना, सशस्त्र प्रहरी बल, नेपालका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना नागरिक रहेका छन्।

त्यसैगरी हालसम्म हवाई तथा जमीनबाट ८ हजार १८६ जनाको उद्धार भएको छ। नेपाली सेनाद्वारा २ हजार ९७४ जना, नेपाल प्रहरीद्वारा २ हजार ६९९ जना र सशस्त्र प्रहरीबाट २ हजार ५१३ जनाको उद्धार भएको हो। जसमध्ये जलविद्युतको सुरुङबाट भदौ १२ गते १९१ र भदौ १३ गते ८८ जना गरी जम्मा २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। त्यस्तै हालसम्म २२७ जना विदेशी नागरिकलाई उद्धार गरिएको छ।

बाढी प्रभावितस्थलमा १९ हजार ८९५ जना सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाल प्रहरीका ७ हजार २९३ जना, नेपाली सेनाका ८ हजार ३९९ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना परिचालन गरिएको हो। यता पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालहरूमा राखिएका छन्। बाढीबाट हालसम्म २४२ जना घाइते (उपचाररत र डिस्चार्ज भएका सहित) छन्।

बाढी प्रभावितका लागि हालसम्म ३७ ट्रक खाद्य र गैरखाद्य सागग्री पठाइएको छ। हेलिमार्फत् ७ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको र प्रभावित क्षेत्रमा सञ्चार सेटहरू पनि पठाइएको छ। भदौ १३ गते २ टन खाद्य सामग्री उत्तरगया र धुन्चे र हेलि मार्फत् उद्धार सामग्री पठाइएको प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*