भोटेकोशी बाढीले बैंकका १७ शाखा बगाउँदा ३५ कर्मचारी बेपत्ता, साढे ४ अर्ब निक्षेप जोखिममा

१४ भाद्र २०८३, आईतवार १०:३३

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका बैंक तथा वित्तीय संस्थाका शाखामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले स्याफ्रुबेंसी र टिमुरे क्षेत्रका ११ वाणिज्य बैंकका १७ भन्दा बढी शाखा पूर्ण रूपमा बगाएको प्रारम्भिक विवरण छ।

ती शाखामा करिब ४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप रहेको थियो भने २ अर्ब ४२ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो। यी शाखामा ७३ हजारभन्दा बढी निक्षेप खाता र २ हजारभन्दा बढी ऋण खाता रहेका छन्।

बाढीले बैंकका भवनसँगै शाखामा रहेका भल्ट, नगद तथा अन्य सामानसमेत बगाएको छ। तर बैंकहरूले अहिले क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकेका छैनन्। बैंकहरूले पहिलो प्राथमिकता बाढीपछि सम्पर्कविहीन भएका कर्मचारीको खोजी र उद्धार रहेको बताएका छन्।

राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाबाट मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ। राष्ट्र बैंकका अनुसार शाखामा रहेको नगद, जिन्सी तथा निक्षेप र कर्जाको आधारमा प्रारम्भिक क्षतिको अनुमान गर्न थालिएको छ।

नेपाल बैंकर्स संघले पनि प्रभावित बैंकहरूसँग शाखाको क्षति, नगद तथा सुनचाँदी र बाढी प्रभावित जलविद्युत् आयोजनामा रहेको बैंकको लगानीबारे विवरण मागेको जनाएको छ।

यता बाढीले बगाएर ल्याएको बैंकको भल्ट धादिङको गल्छी क्षेत्रमा भेटिएको र फुटाएर रकम निकालिएको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको छ।

बाढीमा परेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीमध्ये अझै ३५ जना सम्पर्कविहीन रहेको राष्ट्र बैंकले जनाएको छ। सम्पर्कमा नआएकामध्ये २७ जना वाणिज्य बैंकका, ६ जना लघुवित्तका कर्मचारी छन्। दुई जना भने बिदामा घुम्ने क्रममा सो क्षेत्रमा पुगेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*