प्रधानमन्त्री राहत कोषमा सहयोग गरें भन्दै नक्कली स्टेटमेन्ट बनाएर आफ्नो क्यूआर प्रचार गर्ने पक्राउ

१४ भाद्र २०८३, आईतवार १०:४३

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा आफ्नो क्यूआर कोड राखेर रकम संकलन गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरिएको हो। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम प्रयोग गरी उनले भ्रम सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कार्कीले आफूले उक्त कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै च्याट जीपीटीको प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट तयार गरेको प्रहरीले जानकारी दिएको छ। सोही नक्कली स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले आफ्नो क्यूआर कोडसमेत राखेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

नक्कली विवरणमार्फत सर्वसाधारणमा भ्रम सिर्जना गरी आफ्नो क्यूआर कोडबाट रकम संकलन गर्न खोजेको आशंकामा कार्कीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*