बाढीका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, यात्राअघि हेर्नुहोस् रोडको अवस्था

काठमाडौं । देशका विभिन्न जिल्लाका सडकखण्डमा बाढी, पहिरो तथा सडक भासिने समस्याका कारण यातायात प्रभावित भएको छ। प्रहरीको पछिल्लो विवरणअनुसार काभ्रे, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, रसुवा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, मुगु, ओखलढुंगा र लमजुङका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ।
काभ्रेपलाञ्चोक हुँदै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सबै सवारी साधनको आवतजावत रोक लगाइएको छ। बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात बन्द रहने र बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।
मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारी साधनको आवतजावत रोकिएको छ। त्यहाँ बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा भने अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको छ।
त्यसैगरी इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको जनाइएको छ। उता रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीको कटान र त्यसपछि आएको बाढीका कारण ठूलो क्षति पुगेपछि पूर्ण रूपमा अवरुद्ध छ।
त्यसैगरी रसुवा र नुवाकोट हुँदै रसुवागढी नाकातर्फ जाने मुख्य पासाङ ल्हामु राजमार्ग पनि त्रिशूली नदीको कटानका कारण अवरुद्ध छ। स्याफ्रुबेंसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसीसम्मको वैकल्पिक एक लेनको कच्ची सडक प्रयोग गर्न सकिनेछ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित पाङदुर र भालुखोलामा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। यता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरी सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ पैदल आवतजावतसमेत गर्न नसक्ने अवस्था रहेको छ। धादिङकै गजुरी गाउँपालिका–२ परेवा भीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि पृथ्वी राजमार्गको अर्को खण्ड पनि अवरुद्ध भएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्लास्थित नाग्म–मुगु–गमगढी सडकखण्डमा अविरल वर्षाका कारण ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा बाढीले सडकको भाग कटान गरी करिब १५ मिटर सडकमा क्षति पुर्याएपछि लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँसीसहर–मनाङ सडकखण्डमा बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।









