काठमाडौंमा ग्यास अभाव, वैकल्पिक बाटोबाट आपूर्तिको तयारी

काठमाडौँ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताले पुनः अभावको सामना गर्न थालेका छन्। बजारमा ग्यास सहज रूपमा नपाएपछि विभिन्न स्थानमा उपभोक्ताको चाप बढ्न थालेको छ।
पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा बाढीका कारण सडकको केही भाग भासिएपछि ग्यास बोकेका बुलेट काठमाडौं आउन नसकेको हो। सडकमार्ग अवरुद्ध भएपछि उपत्यकामा नियमित रूपमा हुँदै आएको ग्यासको आपूर्ति रोकिँदा बजारमा त्यसको प्रत्यक्ष असर परेको छ।
नेपाल आयल निगमका अनुसार भदौ १३ गतेदेखि ग्यास बोकेका कुनै पनि बुलेट काठमाडौं उपत्यका प्रवेश गर्न सकेका छैनन्। सडकको अवस्थाका कारण आपूर्ति प्रभावित भएपछि निगमले वैकल्पिक बाटोबाट ग्यास भित्र्याउने तयारी अघि बढाएको जनाएको छ।
यसअघि नै बजारमा देखिएको ग्यासको कमी सडक अवरोधपछि थप गम्भीर बनेको छ। पर्याप्त परिमाणमा ग्यास उपलब्ध नहुँदा उपभोक्ताले पसल तथा बिक्री केन्द्र धाउनुपरेको छ। कतिपय स्थानमा ग्यासका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था देखिएको छ।
यसैबीच, लामो अन्तरालपछि साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)ले आइतबार ग्यास ल्याएको छ। ग्यास उपलब्ध हुने खबरसँगै उपभोक्ता वितरण केन्द्रमा पुग्न थालेका छन्। सोमबारदेखि सहज रूपमा ग्यास पाइने अपेक्षामा एसटीसीको केन्द्रीय कार्यालयलगायतका स्थानमा उपभोक्ताको उल्लेख्य भीड देखिएको छ।









