बाढी–पहिरोले मुख्य सडक प्रभावित, पृथ्वी राजमार्गदेखि रसुवाको पासाङल्हामु सडकसम्म अवरुद्ध

१६ भाद्र २०८३, मंगलवार ०९:३५

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। विशेषगरी धादिङ, रसुवा, नुवाकोट, ललितपुर र काभ्रेका सडकमा आवागमनमा समस्या देखिएको छ।

नेपाल प्रहरीका अनुसार धादिङको पृथ्वी राजमार्ग दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ। बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएपछि मानिससमेत आवतजावत गर्न नसक्ने अवस्था छ। त्यस्तै गजुरी गाउँपालिका–२ को परेवाभीरमा बाढीले सडकको तल्लो भाग भासिएपछि राजमार्ग बन्द भएको छ।

रसुवाको पासाङल्हामु राजमार्ग पनि बाढीका कारण लामो समयदेखि प्रभावित छ। त्रिशूली नदीले सडकको ठूलो भाग कटान गरेपछि त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी जाने मुख्य सडक अवरुद्ध भएको हो। स्याफ्रुबेंसीसम्म पुग्न भने वैकल्पिक कच्ची सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्न सकिने व्यवस्था छ। यो सडक सिंगल लेनको कच्ची सडक भएकाले यात्रामा सावधानी अपनाउनुपर्नेछ।

ललितपुरको कान्ति लोकपथ पनि भट्टेडाँडास्थित पाङदुरमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षाका कारण माथिबाट पहिरो खसेर सडकमा थुप्रिएपछि यातायात रोकिएको हो। यता नुवाकोटको टोखा–छहरे सडकमा रातिको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने व्यवस्था गरिएको छ।

काभ्रेको बीपी राजमार्गमा पनि सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोक्ने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइनेछ। मकवानपुरमा ठूला मालबाहक तथा यात्रुबाहक सवारीलाई काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति लोकपथ प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। कान्ति लोकपथ हुँदै हेटौंडातर्फ आउने यात्रुबाहक सवारीले साँझ ६ बजेसम्म ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीले हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्नुपर्नेछ। त्रिखण्डी नजिकको बेलिब्रिज कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारीलाई उक्त पुल प्रयोग नगरी छेउको डाइभर्सनबाट जान भनिएको छ। यस्तै इलामको मेची राजमार्गको राजदुवाली क्षेत्रमा वर्षाका कारण हिलो भएर अवरुद्ध भएको सडक साना सवारीका लागि यसअघि नै सञ्चालनमा आइसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*