नेपाल खानेपानी संस्थानका १९८ पदका विज्ञापन रद्द

काठमाडौं । नेपाल खानेपानी संस्थानले खुला, आन्तरिक तथा बढुवा प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी यसअघि प्रकाशित १९८ पदका सबै विज्ञापन रद्द गरेको छ।
संस्थानले २०८३ वैशाख ६ गते गोरखापत्रमा सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको थियो। लोक सेवा आयोगको सहमतिमा पदपूर्ति समितिको निर्णयअनुसार ती पदका लागि आवेदन खुलाइएको थियो।
तर, पूर्वाधार विकास मन्त्रालयबाट संस्थानको विद्यमान संरचना कायम रहने अवस्था नरहेको जनाउँदै विज्ञापन रद्द गर्न निर्देशन आएपछि पदपूर्ति प्रक्रिया रोकिएको हो। मन्त्रालयले संस्थानसँग सम्बन्धित सेवा तथा संरचनालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको थियो।
मन्त्रालयको निर्देशनपछि संस्थानको पदपूर्ति समितिले लोक सेवा आयोगसँग यसअघि प्रकाशित विज्ञापन खारेज गर्न सहमति मागेको थियो। आयोगले गत भदौ ३ गते विज्ञापन रद्द गर्न सहमति दिएपछि भदौ ८ गते बसेको संस्थानको पदपूर्ति समितिको बैठकले सम्बन्धित सबै विज्ञापन रद्द गर्ने निर्णय गरेको हो।
विज्ञापनअनुसार आवेदन दिएका उम्मेदवारले आफूलाई पायक पर्ने संस्थानको कुनै एक शाखा कार्यालयमा परीक्षा दस्तुर बुझाएको रसिदसहित निवेदन दिएर शुल्क फिर्ता लिन सक्नेछन्।
शुल्क फिर्ताका लागि भद्रपुर, विराटनगर, लहान, राजविराज, जनकपुर, जलेश्वर, गौशाला, मलंगवा, गौर, कलैया, वीरगन्ज, पोखरा, हेम्जा, बुटवल, भैरहवा, तौलिहवा, कृष्णनगर, बहादुरगन्ज, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, बनेपा वा प्रधान कार्यालय त्रिपुरेश्वरमध्ये आफूलाई अनुकूल पर्ने कुनै एक कार्यालयमा निवेदन दिन सकिने संस्थानले जनाएको छ।
परीक्षा शुल्क फिर्ता लिन सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। प्राप्त निवेदन तथा आवश्यक कागजातको रुजु गरेपछि शुल्क फिर्ता पाउने आवेदकको तीन पुस्तेसहितको नामावली संस्थानको वेबसाइटमार्फत पछि सार्वजनिक गरिने संस्थानले जनाएको छ।









