सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । आज भदौ १७ गते बिहान ६ बजे सुनकोशी नदीको खुर्कोट, सिन्धुली, बुढीगण्डकी नदीको आरुघाट, गोरखा र महाकाली नदीको डडेल्धुराको परिगाउँस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीनवटै नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।
जलमापन विवरणअनुसार सुनकोशी नदीको खुर्कोट केन्द्रमा जलसतह ७.६२ मिटर पुगेको छ । उक्त स्थानको सतर्कता तह ७.५ मिटर र खतरा तह ८.६ मिटर रहेको छ ।
त्यस्तै बुढीगण्डकी नदीको आरुघाट केन्द्रमा जलसतह ३.६ मिटर पुगेको छ। त्यहाँको सतर्कता तह ३.५ मिटर र खतरा तह ४ मिटर रहेको छ । आरुघाटमा जलसतह घट्दो क्रममा रहे पनि सतर्कता तहभन्दा माथि रहेको महाशाखाले जनाएको छ ।
यता डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा जलसतह ६.३७ मिटर पुगेको छ । त्यहा सतर्कता तह ५.८ मिटर र खतरा तह ७ मिटर रहेको छ। महाशाखाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई नदीको बहाव र जलसतहमा हुन सक्ने परिवर्तनप्रति सचेत रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।









