एलपी ग्यास वितरणमा निगमको कडाइ, होटल-रेस्टुरेन्टलाई बिक्री तत्काल रोक

१७ भाद्र २०८३, बुधबार १४:२५

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले तत्कालका लागि व्यावसायिक प्रयोजनमा ग्यास बिक्री–वितरण रोक्ने निर्णय गरेको छ । निगमले बजारमा उपलब्ध ग्यास घरायसी तथा अत्यावश्यक प्रयोजनमा मात्र वितरण गर्न विक्रेतालाई निर्देशन दिएको हो ।

बुधबार निगमका नायब कार्यकारी निर्देशक दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारीबीच बसेको संयुक्त बैठकले ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापनका लागि यस्तो निर्णय गरेको निगमले जनाएको छ ।

पृथ्वी राजमार्गको कृष्णाभिर क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ । सम्भावित अभावलाई ध्यानमा राख्दै निगमले होटल, रेस्टुरेन्ट, क्यान्टिनलगायत व्यावसायिक क्षेत्रमा ग्यास बिक्री तत्काल रोक्ने निर्णय गरेको हो ।

अब बजारमा आउने ग्यास विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम, अपांगता भएका व्यक्ति तथा बाढीपीडितका लागि सञ्चालन गरिएका सहायता केन्द्रलाई प्राथमिकताका आधारमा उपलब्ध गराइनेछ । निगमले अत्यावश्यक घरायसी उपभोक्तालाई पनि सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन विक्रेतालाई निर्देशन दिएको छ ।

व्यावसायिक प्रयोजनका लागि ग्यास प्रयोग गर्ने ठूला उपभोक्ता तथा व्यवसायीले भने आफ्नै स्तरबाट ग्यासको व्यवस्थापन गर्नुपर्नेछ । उनीहरूले प्रयोग गर्ने ब्रान्डका सिलिन्डर सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी खाली सिलिन्डर तराईका उद्योगसम्म पुर्‍याएर रिफिल गराई ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बजारमा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहज बनाउन निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा ग्यास विक्रेताका तर्फबाट दुई जना प्रतिनिधि सहभागी गराउने निर्णय पनि बैठकले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*