सोपान फर्मास्युटिकल्सको नाफामा ८२ प्रतिशत गिरावट, कस्ता छन् अन्य सूचक?

१८ भाद्र २०८३, बिहीबार ०७:५०

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको नाफामा ठूलो गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार एक वर्षमा खुद नाफा करिब ८२ प्रतिशत घटेको हो।

कम्पनीले समीक्षा अवधिमा ३ करोड ८२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ७७ लाख ९१ हजार रुपैयाँ थियो। नाफा घटे पनि कम्पनीको सञ्चालन आम्दानी भने केही बढेको छ । अघिल्लो वर्ष ५० करोड ५ लाख ३१ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर ५१ करोड १४ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

नाफामा आएको कमीको असर कम्पनीको प्रतिशेयर आम्दानीमा पनि परेको छ । अघिल्लो वर्ष १८ रुपैयाँ ३३ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष घटेर २ रुपैयाँ २३ पैसामा सीमित भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ३६ करोड ७३ लाख १२ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ३४ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीका अनुसार उत्पादन लागत बढ्दा नाफामा दबाब परेको हो । अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै इजरायल–इरान युद्धका कारण कच्चा पदार्थ र इन्धनको मूल्य बढेको कम्पनीले जनाएको छ । बढेको लागतअनुसार औषधिको बिक्री मूल्य समायोजन गर्न नसक्दा नाफाको मार्जिन घटेको कम्पनीको भनाइ छ ।

आगामी दिनमा भने कम्पनीले मुटुरोग, मधुमेह र युरोलोजीसम्बन्धी नयाँ औषधिको उत्पादन तथा बिक्री विस्तार गर्ने योजना बनाएको छ । बजार विस्तारका लागि नयाँ मार्केटिङ डिभिजन सञ्चालन गर्ने तथा कच्चा पदार्थको मौज्दात व्यवस्थापन सुधार गरेर उत्पादन लागत घटाउने लक्ष्य पनि कम्पनीले अघि सारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*