रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ कोषमा जम्मा गरेका हुन्। रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले दुवै कम्पनीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीहरूले प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
कम्पनी परिवारले बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, विपद्को कठिन समयमा उद्धार तथा राहतमा खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्यकर्मी लगायत सबैप्रति सम्मान तथा आभार व्यक्त गरेको छ।









