कमर्सियल भेहिकल बजारमा आक्रामक आइएमई मोटर्स, वर्षदिनमा साढे ३ अर्बको व्यापार

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ७.३२ प्रतिशत अर्थात् २३ करोड ९० लाख रुपैयाँले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण देखिए पनि पछिल्ला दुई आर्थिक वर्षमा भने निरन्तर वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३४ करोड ७० लाख रुपैयाँ, २०७९/८० मा १ अर्ब ७५ करोड १० लाख रुपैयाँ, २०७८/७९ मा ३ अर्ब १४ करोड रुपैयाँ, २०७७/७८ मा २ अर्ब ६३ करोड १० लाख रुपैयाँ, २०७६/७७ मा १ अर्ब ८३ करोड २० लाख रुपैयाँ र २०७५/७६ मा २ अर्ब ९५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सन् २०१० मा स्थापना भएको आइएमई मोटर्स सुरुमा एलटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडका रूपमा सञ्चालनमा आएको थियो । कम्पनीले त्यसबेला डिजिटल टेलिभिजन सेवा प्रदायक डिसहोमको विक्रेता कारोबार गर्दै आएको थियो । सन् २०१५ देखि हिन्दुजा ग्रुपअन्तर्गतको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्ड लिमिटेडको आधिकारिक विक्रेताका रूपमा कारोबार सुरु गरेको कम्पनीको नाम सन् २०१७ मा परिवर्तन गरी आइएमई मोटर्स प्रालि राखिएको हो ।
हाल आइएमई मोटर्स नेपालमा अशोक लेल्यान्डको आधिकारिक एकमात्र राष्ट्रिय वितरकका रूपमा कार्यरत छ । कम्पनीले अशोक लेल्यान्डका बस, इन्टरमिडिएट कमर्सियल भेहिकल, लाइट कमर्सियल भेहिकल, मिडियम कमर्सियल भेहिकल, ट्रक तथा टिपरलगायत सम्पूर्ण व्यावसायिक सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ ।
पछिल्लो समय कम्पनीको वित्तीय अवस्था सुधारोन्मुख देखिए पनि व्यावसायिक सवारीसाधन बजारमा सरकारी नीतिका कारण नयाँ चुनौती थपिएको छ । सरकारले सन् २०२६ मेमा जारी गरेको परिपत्रमार्फत नयाँ व्यावसायिक सवारीसाधन दर्तामा अनिश्चितकालीन रोक लगाएपछि व्यावसायिक सवारीसाधनमा केन्द्रित आइएमई मोटर्सको आगामी कारोबारमा दबाब पर्न सक्ने जोखिम देखिएको हो ।
दर्तामा लगाइएको रोक लामो समयसम्म कायम रहेमा कम्पनीको बिक्री, आम्दानी र समग्र व्यावसायिक प्रदर्शन प्रभावित हुन सक्ने देखिन्छ । यद्यपि रोक लाग्नुअघि आयात गरिएका सवारीसाधनको मौज्दात तथा खोलिएका प्रतीतपत्रले निकट अवधिको कारोबारलाई केही हदसम्म निरन्तरता दिने अपेक्षा गरिएको छ । तर, सन् २०२६ अक्टोबरको अन्त्यतिर प्रमुख चाडपर्वपछि व्यावसायिक सवारीसाधनको माग बढ्ने समयमा समेत दर्ता रोक कायमै रहेमा कम्पनीको व्यवसायमा थप दबाब पर्न सक्ने जोखिम औंल्याइएको छ ।
भारत स्टेज–६ उत्सर्जन मापदण्डको अनिवार्य कार्यान्वयनले भने कम्पनीलाई अर्को अवसर पनि सिर्जना गर्न सक्छ । उच्च मापदण्डका सवारीसाधनका कारण प्रतिइकाइ बिक्रीबाट प्राप्त हुने रकम बढ्न सक्ने भएकाले यसले कम्पनीको कारोबार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । तर, कारोबार विस्तारसँगै थप चालु पुँजी आवश्यक पर्ने भएकाले कम्पनीको वित्तीय व्यवस्थापनमा चुनौतीसमेत थपिन सक्ने देखिन्छ ।
कम्पनीको तरलता अवस्था भने अझै दबाबमा रहेको छ । ग्राहकबाट रकम उठाउन लाग्ने समय लामो हुँदा चालु पुँजीमा कम्पनीको निर्भरता उच्च बनेको छ । आर्थिक वर्ष २०८२/८३ को मध्य जुलाईसम्म कम्पनीको चालु पुँजी आवश्यकता सञ्चालन आम्दानीको करिब ७१ प्रतिशत रहेको थियो । उच्च चालु पुँजी आवश्यकताका कारण कम्पनी अल्पकालीन बाह्य वित्तीय स्रोतमा निर्भर रहेको देखिन्छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । उक्त ऋणमध्ये १ अर्ब ३० करोड ९० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ११ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । उच्च कार्यशील पुँजी आवश्यकताका कारण कम्पनीको अल्पकालीन ऋणमा निर्भरता र तरलतामाथिको दबाब आगामी दिनमा समेत महत्वपूर्ण विषय बन्ने देखिन्छ ।
आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको गियरिङ करिब २.३ गुणा र कुल बाह्य दायित्व तथा नेटवर्थको अनुपात करिब २.४ गुणामा झरेको छ । अघिल्लो मूल्यांकनका क्रममा यी अनुपात क्रमशः ७.६ गुणा र ७.४ गुणा रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको ब्याज भुक्तानी क्षमता अनुपात २.६ गुणा र ऋण सेवा भुक्तानी क्षमता अनुपात १.९ गुणा रहेको छ ।
तर, नेपालमा अशोक लेल्यान्डको एकमात्र राष्ट्रिय वितरकका रूपमा करिब ११ वर्षको अनुभव भए पनि कम्पनीले बजारमा तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ । टाटा मोटर्स, भारतबेन्ज र आइचरजस्ता स्थापित ब्रान्डका आधिकारिक विक्रेतासँगको प्रतिस्पर्धा कम्पनीको व्यवसायका प्रमुख चुनौती हुन् । साथै, अशोक लेल्यान्डसँगको विक्रेता अधिकार नवीकरण नहुने जोखिमसमेत कम्पनीको व्यवसायिक प्रोफाइलका लागि महत्वपूर्ण विषयका रूपमा रहेको छ ।









