गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित ८ जना क्यासिनोबाट पक्राउ

२१ भाद्र २०८३, आईतवार १०:४८

काठमाडौँ ।  वीरगञ्जमा क्यासिनो प्रवेश गरी जुवा खेलिरहेको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीहरू प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले राति छापा मारेको थियो।

छापाका क्रममा जुवा खेलिरहेका चार जना र नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउन संलग्न चार कर्मचारी गरी आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय अध्यक्ष जसवन्त यादव, ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३२ वर्षीय ओमप्रकाश बैठा र म्याग्दीको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रहरी निरीक्षक प्रदीप पौडेल रहेका छन्।

यस्तै, नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*