बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको झट्का, १२ लाख ७८ हजार क्षतिपूर्ति भराउन आदेश

२१ भाद्र २०८३, आईतवार १४:१५

काठमाडौँ । आकर्षक विज्ञापनमार्फत ७ देखि १० वर्षसम्मको वारेन्टी दिने भन्दै बिक्री गरिएको बर्जर पेन्ट्सको रङ गुणस्तरहीन भएको भन्दै क्षतिपूर्ति माग गरेका तीन उपभोक्ताको पक्षमा उपभोक्ता अदालतले फैसला गरेको छ । अदालतले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. र फ्रेन्ड्स फरइभर ट्रेडिङ प्रा.लि.का सञ्चालक दिनेश गिरीलाई पीडित उपभोक्तालाई क्षतिपूर्ति दिन आदेश दिएको हो ।

अदालतका सदस्य (न्यायाधीश) गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले २०८२ माघ २६ गते गरेको फैसलाको पूर्णपाठअनुसार रङ घरमा लगाएको ६ देखि ८ महिनामै खुइलिएको भन्दै दिपकराज गिरी, सिद्धान्त श्रेष्ठ र दयाराम कार्कीले मुद्दा दायर गरेका थिए । उनीहरूले खरिदबापत तिरेको रकम तथा कानुनबमोजिम क्षतिपूर्ति माग गरेका थिए ।

अदालतले सार्वजनिक विज्ञापन र रङको बट्टामा ७ देखि १० वर्षसम्म वारेन्टी हुने उल्लेख गर्ने तर वारेन्टी सर्टिफिकेटमा विभिन्न सीमितता र सर्त राख्ने कार्य उपभोक्ता संरक्षण ऐनविपरीत भएको ठहर गरेको छ । साथै, उत्पादकले डिलरसँगको व्यापारिक सम्झौतामार्फत उपभोक्ताप्रतिको आफ्नो कानुनी दायित्वबाट उन्मुक्ति पाउन नसक्ने पनि अदालतले स्पष्ट पारेको छ ।

फैसलाअनुसार बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले १२ लाख १४ हजार ५०० रुपैयाँ र फ्रेन्ड्स फरइभर ट्रेडिङ प्रा.लि.का सञ्चालक दिनेश गिरीले ६३ हजार ९०० रुपैयाँ गरी कुल १२ लाख ७८ हजार ४०० रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ । उक्त रकममध्ये दिपकराज गिरीले ३ लाख ४६ हजार १००, सिद्धान्त श्रेष्ठले ६ लाख ३४ हजार ८०० र दयाराम कार्कीले २ लाख ९७ हजार ५०० रुपैयाँ पाउने अदालतले ठहर गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*