राष्ट्रिय जीवन बीमा कम्पनीका महेश रिमाल कर्जा सुरक्षण कोषको सीईओ बन्ने दौडमा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत महेश रिमाल निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने दौडमा परेका छन् । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले छनोट गरेका ६ जना उम्मेदवारको सूचीमा रिमाल पनि परेका हुन् ।
समितिले सीईओ पदका लागि परेको दरखास्तमध्ये उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव तथा पेस गरिएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गरी उच्चतम अङ्क प्राप्त गर्ने ६ जनालाई सर्टलिस्ट गरेको हो ।
सर्टलिस्टमा रिमालसँगै पिताम्बर भण्डारी (गुल्मी), प्रताप सुवेदी (काठमाडौं), विक्रान्त आचार्य (काठमाडौं), समता पन्त (काठमाडौं) र सुमनकुमार अधिकारी (काठमाडौं) रहेका छन् । समितिले उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरेको हो ।
राष्ट्रिय जीवन बीमा कम्पनीमा कार्यरत रिमाल वित्तीय क्षेत्रको अनुभव भएका उम्मेदवारका रूपमा सीईओ पदका लागि प्रतिस्पर्धामा छन् । अब हुने व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताले उनको आगामी यात्रा तय गर्नेछ ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असोज १ र २ गते सञ्चालन हुनेछ । प्रस्तुतीकरण र अन्तर्वार्तामा उम्मेदवारहरूको कार्ययोजना, अनुभव तथा नेतृत्व क्षमताको मूल्याङ्कन गरिनेछ ।
अन्तर्वार्ता तथा प्रस्तुतीकरणपछि सिफारिस समितिले उत्कृष्ट तीन जनाको नाम छनोट गरी अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले सिफारिस गरिएका तीन जनामध्येबाट एक जनालाई निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ ।









