असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड–२ निष्काशनमा आउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले १० वर्षे बन्दमुखी म्युचुअल फण्ड योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको छ। क्यापिटलले सर्वसाधारणका लागि योजनाको इकाई निष्कासन प्रक्रिया अघि बढाएको हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गर्न लागेको छ। कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई योजना प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ।
योजनामा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ। यसअनुसार न्यूनतम १ हजार रुपैयाँ लगानीबाटै आवेदन दिन सकिनेछ। अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
क्यापिटलका अनुसार इकाई निष्कासन आगामी असोज १ गतेदेखि खुला हुनेछ। निष्कासन छिटोमा असोज ६ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको अवस्थामा ढिलोमा असोज १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।









